पूर्वसांसद गोविन्दविक्रम शाहको नि’धन

जाजरकोट । पूर्वसांसद तथा अनुभवी राजनीतिज्ञ गोविन्दविक्रम शाहको निधन भएको छ। उनकाे जिल्ला अस्पताल जाजरकोटमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। शाह ०५६ सालमा जाजरकोट जिल्ला क्षेत्र नम्बर १ बाट ८ हजार ४५२ मतले विजय भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर शाही ७ हजार ६७६ मतसहित पराजित भएका थिए।

शाहले आफ्नो राजनीतिक जीवनमा विभिन्न जिम्मेवारी सम्हाल्दै जिल्लाको राजनीतिक तथा सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए। उनी तत्कालीन जिल्ला विकास समिति (जिविस) सभापति, निर्वाचित सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक सदस्यसमेत रहेका थिए।  पछिल्लो समय नेकपा एमालेमा होमिएका नेता शाह ०८० पुस ३ गते राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा प्रवेश गरेका थिए।

शाहको निधनसँगै जाजरकोटले एक अनुभवी, स्पष्ट वक्ता राजनीतिक व्यक्तित्व गुमाएको छ। उनको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा स्थानीयले श्रद्धाञ्जली व्यक्त गरेका छन्। शाह नेकपा एमाले जाजरकोटका कार्यवाहक अध्यक्ष विश्वविक्रम शाहका पिता हुन् ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया