जाजरकोटमा पहिरोको वितण्डा: ७ जना घाइते, घर तथा टहरा क्षतिग्रस्त

जाजरकोट । अविरल वर्षापछि आएको पहिरोले जाजरकोटमा जनजीवन प्रभावित भएको छ। भेरी नगरपालिका–२ रिसाङ र आसपासका क्षेत्रमा पहिरो खस्दा ७ जना घाइते भएका छन् भने घर तथा अस्थायी टहरा क्षतिग्रस्त भएका छन्।

पहिरोमा परी ६० वर्षीय रामबहादुर शाही गम्भीर घाइते भएका छन्। जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि उनलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ। यस्तै, आरन सञ्चालक सिद्दीबहादुर कामीको ढाडमा गम्भीर चोट लागेको र उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

भद्रावली कार्की, मनवीर चदरा, मनिषा विक र मोतीकला विक पनि घाइते भएका छन्। उनीहरूको अवस्था मध्यमदेखि गम्भीर रहेको प्रहरीले जनाएको छ।

पहिरोले भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको दुईतले कच्ची घर पूर्ण रूपमा क्षति भएको छ। घरमा रहेका पाँच जना आफन्तको घरमा आश्रय लिएर बसेका छन्। सोही क्षेत्रमा भैरवी केसीका दुईवटा अस्थायी टहरा पनि भत्किएका छन्।

घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारका लागि घटनास्थलमा परिचालन गरिएको छ। पहिरोका कारण सडक अवरुद्ध भएकाले उद्धार टोली पैदलै घटनास्थल पुगेको प्रहरीले जनाएको छ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया