क्रिकेटर युनिश विक्रम सिंहलाई जाजरकोटमा सम्मान


नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट प्रदर्शन गर्दै कर्णाली याक्सबाट सहभागी भएका क्रिकेटर युनिश विक्रम सिंहलाई गृह जिल्ला जाजरकोटमा सम्मान गरिएको छ।
जाजरकोट युवा क्रिकेट क्लबले मंगलबार सदरमुकाम खलंगामा विशेष कार्यक्रमको आयोजना गरी सिंहलाई दोसल्ला ओढाएर सम्मान गरेको हो। क्लबका अध्यक्ष अनिश कार्कीका अनुसार सिंहले एनपिएलमा उत्कृष्ट प्रदर्शन गर्दै जाजरकोट र कर्णालीको नाम राष्ट्रिय स्तरमा उचो बनाएका छन्।


कार्यक्रममा स्थानिय खेलप्रेमी, क्रिकेट खेलाडी, र विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो। सम्मान कार्यक्रममा क्लबले सिंहलाई क्रिकेट क्षेत्रमा थप सफलता प्राप्त गर्नका लागि शुभकामना व्यक्त गर्दै जिल्लाको खेलकुद विकासमा उनको योगदानको प्रशंसा गरेको थियो।
सिंहले सम्मानले आफूलाई आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्न प्रेरणा मिलेको बताए। साथै, उनले जाजरकोटमा क्रिकेट खेललाई प्रवर्द्धन गर्नका लागि आफूले हरसम्भव योगदान दिने प्रतिवद्धता व्यक्त गरे।



नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्दै सिंहले उल्लेखनीय प्रदर्शन गरेका थिए। उनका योगदानले कर्णाली याक्सले प्रभावशाली यात्रा तय गरेको थियो। सिंह जाजरकोटका पहिलो क्रिकेटर हुन् जसले एनपिएलमा खेल्ने अवसर प्राप्त गरेका छन्।
यो सम्मान कार्यक्रमले जाजरकोट जिल्लामा खेलकुदको विकास र प्रतिभाशाली खेलाडीहरूको पहिचानमा महत्त्वपूर्ण योगदान पुर्‍याएको क्लबका पदाधिकारीहरूले बताए।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया