आन्दोलनमा होमिए जाजरकोटका पत्रकार


जाजरकोट । पत्रकार सुरेश रजकको हत्या र विभिन्न सञ्चार गृहमा भएका आक्रमणको विरोधमा जाजरकोटका पत्रकार आन्दोलनमा होमिएका छन् । आइतबार पत्रकार महासंघ जाजरकोट शाखाको आयोजनामा जिल्लाका क्रियाशिल पत्रकारहरुले विरोधसभा गरेका हुन ।
जिल्ला स्थित ठाँटि पिपल चोकमा हातमा कालो पट्टी र प्ले कार्ड समातेर विरोध सभा गरिएका थिए । कार्यक्रममा बोल्ने वक्ताहरूले पत्रकार सुरेश रजकको हत्यामा संलग्न दोषीलाई तत्काल छानबिन गरी कडा कारबाही गर्नुपर्ने माग राखेका छन् । नेपाल पत्रकार महासंघ जाजरकोटका पूर्व अध्यक्ष भीमबहादुर सिंहले प्रेस स्वतन्त्रताको रक्षा गर्न सरकार गम्भीर बन्नुपर्ने भन्दै पत्रकारहरूमाथिको आक्रमणले लोकतन्त्रलाई नै कमजोर बनाउने चेतावनी दिए । महासंघका सल्लाहकार राजेन्द्र कार्कीले पत्रकार सुरक्षालाई राज्यले उपेक्षा गरिरहेको आरोप लगाउँदै निष्पक्ष छानबिनमार्फत दोषीलाई कडा सजाय दिनुपर्ने माग गरे । गोरखापत्र दैनिकका जाजरकोट समाचारदाता सहदेव बस्नेतले पत्रकारिता लोकतन्त्रको चौथो अंग भएकाले यसको रक्षा गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताए । उनले पत्रकार रजकलाई सहिद घोषणा गर्दै पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राखे । जाजरकोटमा कार्यरत पत्रकारहरूले हातमा कालो पट्टी बाँधेर विरोध जनाएको पत्रकार महासंघ जाजरकोटका सचिव रेशम बहादुर खड्काले बताए । पत्रकार महासंघ केन्द्रीय समितिले निर्धारण गरेको कार्यतालिका अनुसार जाजरकोटमा आइतवार बिरोध सभा सम्पन्न भएको छ । उनले भन् सोमवार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ । प्रेस स्वतन्त्रताको सुरक्षा, पत्रकार सुरक्षाका उपायहरू मजबुत बनाउनुपर्ने तथा पत्रकारिता क्षेत्रमा आक्रमण गर्नेहरूलाई कडाभन्दा कडा कारबाही गर्नुपर्नेमा खड्काले जोड दिएका थिए ।

समापन क्रममा महासंघका उपाध्यक्ष विनोद कुमार घर्तीले पत्रकार सुरेश रजकको हत्या र सञ्चारमाध्यममाथि भएका आक्रमणको कडा विरोध गर्दै दोषीलाई यथाशीघ्र कानुनी कारबाही गर्न सरकारसमक्ष माग गरेका छन् । विरोधसभामा महासंघका उपाध्यक्ष विनोद घर्तिको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रमको सञ्चालन महासंघका सचिव रेशम बहादुर खड्काले गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ जाजरकोटका पूर्व अध्यक्ष भीमबहादुर सिंह, महासंघका सल्लाहकार राजेन्द्र कार्की तथा गोरखापत्र दैनिकका जाजरकोट समाचारदाता सहदेव बस्नेत लगायतले सम्बोधन गरेका थिए ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया