
जाजरकोट । भूकम्प प्रभावित तथा जोखिममा रहेका कृषक परिवारको खाद्य तथा पोषण सुरक्षा र दिगो जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले SUSTAIN परियोजनाले बारेकोट गाउँपालिका र आठबिसकोट नगरपालिकामा विभिन्न १३ प्रजातिका बीउ वितरण गरेको छ।
परियोजनाअन्तर्गत करिब २० लाख रुपैयाँ बराबरको बीउ तथा कृषि सामग्री सहयोग गरिएको जनाइएको छ। सहयोगबाट कृषक समूह तथा लक्षित घरधुरीलाई स्थानीय हावापानी, माटो र कृषकको आवश्यकता अनुकूल विभिन्न बालीका गुणस्तरीय बीउ उपलब्ध गराइएको परियोजनाले जनाएको छ।
बीउ सहयोगमार्फत स्थानीयस्तरमा खाद्य उत्पादन वृद्धि, बाली विविधीकरण, पोषण सुधार तथा जलवायु उत्थानशील कृषि प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, कृषकको आयआर्जनमा समेत सकारात्मक योगदान पुर्याउने लक्ष्य परियोजनाको रहेको छ।
बीउ वितरण कार्यक्रमलाई दिगो एकीकृत कृषि प्रणाली (SIFS) तथा पोषणसम्बन्धी LANN+ अभ्याससँग जोडिएको छ। यसअन्तर्गत कृषक समूहको क्षमता विकाससँगै समुदायमा आधारित बीउ उत्पादनलाई समेत प्रवर्द्धन गरिने परियोजनाले जनाएको छ।
SUSTAIN परियोजना WHH/BMZ को सहयोगमा RRN, MIC Nepal र FTG Nepal को साझेदारीमा सञ्चालन भइरहेको छ। परियोजनाले भूकम्प प्रभावित तथा जोखिममा रहेका परिवारको खाद्य सुरक्षा, पोषण र उत्थानशील जीविकोपार्जन सुधारका क्षेत्रमा काम गर्दै आएको छ।






विनोद कुमार घर्ती (रिदम) । २०८३ असोज १ गते बिहिवार