
जाजरकोट । जाजरकोटमा दुई महत्वपूर्ण सरकारी कार्यालय स्थापना तथा सञ्चालन हुने भएका छन्। हालै पारित भएको ओ.एन.एम. (Organizational and Management Survey) मार्फत पूर्वाधार विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास डिभिजन कार्यालय र खानेपानी तथा ढल निकास कार्यालय जाजरकोटमा रहने प्रस्ताव अघि बढाइएको हो।
प्रस्तावअनुसार दुवै कार्यालयको कार्यक्षेत्र जाजरकोट, डोल्पा, रुकुम पूर्व र रुकुम पश्चिम रहनेछ। कार्यालयको मुख्य केन्द्र जाजरकोटमै रहने व्यवस्था मिलाउन जाजरकोटका युवा नवीन सिंह खड्काले महत्वपूर्ण पहल गरेको बताइएको छ।
सम्बन्धित निकायसँगको समन्वय तथा निरन्तर पहलपछि दुई महत्वपूर्ण कार्यालय जाजरकोटमा राख्ने प्रस्ताव अघि बढेको जनाइएको छ। कार्यालय स्थापना भएपछि जिल्लाका साथै कार्यक्षेत्रमा पर्ने अन्य स्थानीय तहहरूमा पूर्वाधार विकास, खानेपानी तथा ढल निकाससम्बन्धी प्राविधिक तथा प्रशासनिक सेवा थप सहज हुने अपेक्षा गरिएको छ।
विशेषगरी दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रका नागरिकले सम्बन्धित सेवा लिन अन्य जिल्लामा पुग्नुपर्ने अवस्थासमेत कम हुने अपेक्षा गरिएको छ। स्थानीय स्तरमै कार्यालय स्थापना भएपछि विकास निर्माणका योजनाको प्राविधिक अनुगमन, समन्वय तथा खानेपानी र ढल निकाससम्बन्धी काममा समेत सहजता आउने बताइएको छ।
जाजरकोटमै दुई महत्वपूर्ण कार्यालय रहने भएपछि जिल्लाको प्रशासनिक तथा प्राविधिक पहुँच विस्तार हुनुका साथै विकास निर्माणका कामलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।






द मालिका पोष्ट । २०८३ असोज २ गते शुक्रवार