
जाजरकोट । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जाजरकोटमा आवश्यक प्रत्यक्ष तथा समानुपातिक तर्फका मतपत्र जाजरकोट पुगेको छ । शनिबार निर्वाचन आयोगद्वारा पठाइएका मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेको हो ।
केन्द्रीय निर्वाचन आयोगबाट पठाएको मत पत्र सुरक्षित जाजरकोट जिल्लामा पुगेको मुख्य निर्वाचन अधिकृत दुर्गा प्रसाद खनालले जानकारी दिए । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १ लाख १५ हजार र समानुपातिक प्रणालीतर्फ १ लाख १८ हजार गरी जम्मा २ लाख ३३ हजार मतपत्र जाजरकोट पुर्याइएको केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि महेन्द्र बहादुर सिंहले बताए ।

मतपत्र आइपुगेपछि आवश्यक सुरक्षा व्यवस्थासहित सुरक्षित स्थानमा भण्डारण गरिएको जनाइएको छ । जिल्लामा हाल कुल १ लाख ७ हजार ९१ जना मतदाता रहेका छन् । ती मतदाताका लागि जिल्लाभर ८८ वटा मतदान स्थलमा १ सय ४७ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय जाजरकोटका सूचना अधिकारी नवीन कठायतले बताए ।

जाजरकोट जिल्लाबाट प्रतिनिधिसभा सदस्य पदका लागि ११ राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन मतदान केन्द्र व्यवस्थापन, कर्मचारी खटाउने, सामग्री वितरण तथा सुरक्षा प्रबन्धका कार्यहरू तीव्र रूपमा अगाडि बढाइएको मुख्य निर्वाचन अधिकृत खनालले बताए ।

सुरक्षाका दृष्टिले मतदान स्थल तथा केन्द्रहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा आवश्यक परे नेपाली सेनाको सहयोगमा बहुपक्षीय सुरक्षा योजना लागू गरिएको छ । संवेदनशील मतदान केन्द्रहरूमा थप सुरक्षा सतर्कता अपनाइने प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले बताए ।






विनोद कुमार घर्ती (रिदम) । २०८२ फाल्गुन २ गते शनिवार