जाजरकोटका स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन सार्वजनिक : भेरी नगरपालिका प्रथम

जाजरकोट । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले आर्थिक वर्ष २०८१/०८२ का लागि गरेको स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कन सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार जाजरकोट जिल्लामा भेरी नगरपालिका प्रथम स्थानमा रहेको छ।

आयोगका अनुसार भेरी नगरपालिकाले ७६.९६ अंक प्राप्त गर्दै जिल्लामै पहिलो स्थान हासिल गरेको हो। त्यस्तै, त्रिवेणी नलगाड नगरपालिका ले ६६.४८ अंकसहित दोस्रो तथा बारेकोट गाउँपालिका ले ६६.१७ अंकसहित तेस्रो स्थान प्राप्त गरेका छन्।

अन्य स्थानीय तहहरूमा शिवालय गाउँपालिका ले ५९.६९, जुनीचाँदे गाउँपालिका ले ५८.२३, छेडागाड नगरपालिका ले ५६.६६ र कुशे गाउँपालिका ले ५०.०६ अंक प्राप्त गरेका छन्।

आयोगले वित्तीय अनुशासन, बजेट कार्यान्वयन, सेवा प्रवाह, पारदर्शिता, सुशासन तथा संस्थागत क्षमताजस्ता सूचकका आधारमा मूल्याङ्कन गरेको जनाएको छ। यस मूल्याङ्कनअनुसार भेरी नगरपालिका जाजरकोट जिल्लामै मात्र होइन, कर्णाली प्रदेशभर दोस्रो र देशभर नवौँ स्थानमा समेत पर्न सफल भएको छ।

यस उपलब्धिप्रति प्रतिक्रिया दिँदै भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तिले भन्नुभयो, “यो सफलता सम्पूर्ण भेरी नगरपालिकावासी नागरिक, जनप्रतिनिधि, कार्यपालिका सदस्यहरु, सम्मुर्ण राष्ट्रसेवक कर्मचारी तथा सरोकारवाला सबैको संयुक्त प्रयासको परिणाम हो। हामीले वित्तीय अनुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्दै आएका छौं। आयोगले गरेको मूल्याङ्कनले हाम्रो मेहनतलाई प्रमाणित गरेको छ। आगामी दिनमा अझ जिम्मेवार, पारदर्शी र जनउत्तरदायी सेवा प्रवाह गर्दै भेरी नगरपालिकालाई प्रदेशकै उत्कृष्ट स्थानीय तह बनाउने दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।”

स्थानीय तहहरूले मूल्याङ्कनलाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा सेवा प्रवाह, वित्तीय व्यवस्थापन र सुशासनमा अझ सुधार गर्दै जाने प्रतिबद्धता जनाएका छन्।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया