
जाजरकोट । जाजरकोटको दीर्घकालीन विकासका लागि सबैभन्दा महत्वपूर्ण क्षेत्र शिक्षा हो। शिक्षा सुधार नगरी जाजरकोटलाई समृद्ध बनाउने सपना पूरा हुन सक्दैन। यही विश्वासका साथ प्रतिनिधि सभा उम्मेदवार डम्बर बहादुर सिंहले शिक्षा क्षेत्रलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।
डम्बर बहादुर सिंह आफैँ १७ वर्ष शिक्षक भएर काम गरेको अनुभव बोकेका व्यक्ति हुन्। उहाँ भन्छन्, “यति लामो समय शिक्षण पेशामा बिताउँदा पनि शिक्षा क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको देख्दा दुःख लाग्छ। अब यो अवस्थालाई बदल्नैपर्छ।”
उहाँको शिक्षा एजेन्डाको मुख्य लक्ष्य विद्यालयभित्रको पढाइको गुणस्तर सुधार गर्नु हो, शिक्षक हटाउनु होइन। शिक्षकको क्षमता अभिवृद्धि गर्दै डिजिटल माध्यमको सहयोगमा कक्षा कोठाको सिकाइ प्रभावकारी बनाइनेछ।
यसअन्तर्गत सबै पालिकामा पुस्तक समयमै वितरण, शिक्षकहरूको नियमित Training Upgrade, सरकारी विद्यालयमा डिजिटल कक्षा (प्रोजेक्टर र ल्यापटप) स्थापना तथा गणित र विज्ञान जस्ता विषयमा गुणस्तरीय सामग्री प्रयोग गरिनेछ।
शिक्षालाई डिजिटलकरण गर्दा एकपटक तयार गरिएको शैक्षिक सामग्री धेरै विद्यालयमा प्रयोग गर्न सकिने भएकाले कम खर्चमा दीगो (sustainable) शिक्षा सम्भव हुन्छ। यसले सरकारी बजेटको प्रभावकारी उपयोग पनि सुनिश्चित गर्नेछ।
शिक्षा सुधार भएपछि धेरै विद्यार्थी पढाइका लागि जाजरकोट बाहिर जानुपर्ने बाध्यता घट्नेछ। विद्यार्थीहरू जिल्लामै बसेर गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने हुँदा परिवारको आर्थिक बोझ कम हुने र जाजरकोटको स्थानीय अर्थतन्त्र बलियो बन्नेछ।
कार्यक्रमहरू २.५ वर्षभित्र चरणबद्ध रूपमा लागू गरिने र शिक्षा सम्बन्धी प्रगति सार्वजनिक रूपमा जानकारी गराइने प्रतिबद्धता गरिएको छ। साथै, पालिका तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिनेछ।
डम्बर बहादुर सिंहले शिक्षा क्षेत्रमा परिणाम नआए जिम्मेवारी लिँदै राजीनामा दिने समेत स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।






द मालिका पोष्ट । २०८२ माघ १६ गते शुक्रवार