जिर्ण मालिका मन्दिर पुनर्निर्माणपछि राजीव शाहद्वारा उद्घाटन

जाजरकोट । छेडागाड नगरपालिका–१२ र १३ को सिमानामा लामो समयदेखि जिर्ण अवस्थामा रहेको मालिका मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि बिहीबार उद्घाटन गरिएको छ। सूर्यकिरण युवा विकास केन्द्र, जाजरकोट र युवा सञ्जाल कार्किगाउँको सहकार्यमा पुनर्निर्माण गरिएको मन्दिरको सूर्यकिरण युवा विकास केन्द्रका अध्यक्ष तथा युवा अभियन्ता राजीव शाहले शिलालेख अनावरण गर्दै उद्घाटन गरेका हुन्।

मन्दिरमा बुधबार होम तथा पूजा सम्पन्न गरिएको थियो। त्यसपछि बिहीबार औपचारिक कार्यक्रमबीच शिलालेख राखेर मन्दिरको उद्घाटन गरिएको हो।

देशमा विद्यमान शोक तथा राष्ट्रिय विपत्तिको दुःखद अवस्थालाई मध्यनजर गर्दै मन्दिर उद्घाटनबाहेक अन्य सबै कार्यक्रमहरू स्थगित गरिएको अध्यक्ष शाहले द मालिका पोष्टलाई जानकारी दिए। रसुवामा आएको बाढीका कारण देश शोकमा रहेका बेला अन्य कार्यक्रम नगर्ने निर्णय गरिएको उनले बताए।

स्थानीय पालिकाबाट मन्दिर पुनर्निर्माणका लागि आवश्यक पहल हुन नसकेपछि सूर्यकिरण युवा विकास केन्द्र र युवा सञ्जाल कार्किगाउँले विभिन्न निकाय तथा सहयोगीहरूसँग समन्वय गरी स्रोत जुटाएर मन्दिर पुनर्निर्माण गरेका हुन्।

अध्यक्ष शाहका अनुसार समाजमा हुने हरेक सकारात्मक काममा सबैको आ–आफ्नो भूमिका हुन्छ। समाजमा भएका काममा एक–एक जोडि हात आवश्यक पर्ने भन्दै उनले सार्वजनिक तथा सामाजिक क्षेत्रमा योगदान गर्न युवाहरू आफैं अग्रसर हुनुपर्ने बताए।

“समाजमा भएका सबै काममा एक–एक जोडि हात आवश्यक हुन्छ। परिवर्तनका लागि अरूको मुख ताकेर बस्नुभन्दा आफूले सक्ने ठाउँबाट पहल गर्नुपर्छ,” शाहले भने।

सामाजिक क्षेत्रमा सक्रिय युवा अभियन्ता शाहले समाजमा विद्यमान बेथिति, विसंगति र विकृतिविरुद्ध आवाज उठाउँदै आएका छन्। विकास निर्माण, सामाजिक सेवा तथा जनसरोकारका विषयमा निरन्तर पहल गर्दै आएका शाहले स्थानीयस्तरमा आवश्यक देखिएका काममा युवाहरूलाई संगठित गर्दै अभियान सञ्चालन गर्दै आएका छन्।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको मालिका मन्दिर लामो समयदेखि जिर्ण अवस्थामा रहे पनि पुनर्निर्माणका लागि सम्बन्धित निकायबाट पर्याप्त पहल हुन नसकेको स्थानीयको भनाइ छ। सूर्यकिरण युवा विकास केन्द्र र युवा सञ्जाल कार्किगाउँको सहकार्यमा मन्दिर पुनर्निर्माण भएपछि स्थानीयवासीमा खुसी छाएको छ।

मन्दिर पुनर्निर्माणले स्थानीय धार्मिक आस्था, संस्कृति तथा पहिचान संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया