रिसाङका बाढीपहिरो पीडितका लागि छेडागाड नगरपालिकाले १ लाख ५० हजार सहयोग गर्ने

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका-२, रिसाङमा गत साउन ३० गते गएको विनाशकारी पहिरोबाट भएको जनधनको क्षतिप्रति छेडागाड नगरपालिकाले दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

छेडागाड नगरपालिकाले भदौ १० गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा हुने गरी १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने जनाएको हो।

नगरपालिकाले प्राकृतिक विपद्का कारण अकालमै ज्यान गुमाएका व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, पहिरोमा परी घाइते भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।

विज्ञप्तिमा पहिरो प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा गरिने उल्लेख छ। नगरपालिकाले विपद्को कठिन घडीमा प्रभावित क्षेत्रका नागरिकलाई धैर्य धारण गर्दै अघि बढ्न आग्रहसमेत गरेको छ।

त्यस्तै, विपद्का बेला स्थानीय प्रशासन, सुरक्षा निकाय, उद्धारकर्मी तथा स्वयंसेवकहरूसँग निरन्तर सहकार्य र हातेमालो गर्न नगरपालिका सदैव तत्पर रहेको जनाएको छ।

छेडागाड नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्काले हस्ताक्षर गरेको विज्ञप्तिमा विपद्का बेला प्रभावित नागरिकको साथमा स्थानीय तह उभिने प्रतिबद्धता व्यक्त गरिएको छ।

गत साउन ३० गते भेरी नगरपालिका-२, रिसाङमा गएको विनाशकारी पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएपछि प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न निकाय र संघसंस्थाबाट सहयोग जुटिरहेको छ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया