
जाजरकोट । छिमेकी मुलुक चीनको तिब्बत स्वायत्त क्षेत्रबाट सुरु भई बागमती प्रदेशअन्तर्गत रसुवा जिल्लामा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट ठूलो धनजनको क्षति भएपछि जाजरकोटको छेडागाड नगरपालिकाले राहतका लागि २ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
छेडागाड नगरपालिकाले भाद्र १० गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, बाढीमा परी घाइते भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
नगरपालिकाले विपद्बाट सिर्जित कठिन परिस्थितिमा शीघ्र तथा प्रभावकारी खोज, उद्धार, राहत र पुनर्स्थापनाका कार्यमा राज्यका संयन्त्रहरू जुटिरहेको भन्दै त्यस्ता कार्यमा आफ्नो तर्फबाट पूर्ण ऐक्यबद्धतासहित सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोग पुर्याउने उद्देश्यले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा हुने गरी छेडागाड नगरपालिकाको तर्फबाट रु. २ लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरिएको हो।

नगरपालिकाले विपद्को यस कठिन घडीमा धैर्य धारण गर्दै अघि बढ्न प्रभावित क्षेत्रका सम्पूर्ण जनसमुदायमा हार्दिक अनुरोधसमेत गरेको छ। साथै, स्थानीय प्रशासन, सुरक्षा निकाय, उद्धारकर्मी तथा स्वयंसेवकहरूसँग निरन्तर सहकार्य र हातेमालो गर्न नगरपालिका सदैव तत्पर रहेको जनाएको छ।
नगरपालिकाका नगर प्रमुख रत्नबहादुर बुढाले हस्ताक्षर गरेको विज्ञप्तिमा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा आवश्यक सहयोगका लागि नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।
छेडागाड नगरपालिकाले जारी गरेको विज्ञप्तिमा बाढीका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को सामना गर्न सबै पक्षबीच सहकार्य र मानवीय सहयोग आवश्यक रहेकोमा जोड दिइएको छ।






विनोद कुमार घर्ती (रिदम) । २०८३ भाद्र १० गते बुधवार