
जाजरकोट ।
जाजरकोटको भेरी नगरपालिका–५ काफलचौरस्थित जाजरकोट बहुप्राविधिक शिक्षालयमा पानीको चरम अभाव भएको छ । करिब एक हप्तादेखि शिक्षालयमा पानी आपूर्ति ठप्प हुँदा विद्यार्थीहरू पिउने पानीसमेत नपाई मर्कामा परेका छन् । शिक्षालयका प्रिन्सिपल नन्द प्रसाद चौलागाईका अनुसार भेरी नदीबाट ८ किलोमिटर टाढा रहेको पानीको मुहानमा गएको पहिरोले क्षति पु¥याउँदा पानीको आपूर्ति बन्द भएको हो । ‘करीब एक हप्ता भयो, पानीको मुहानमा पहिरो गएकोले पानी बन्द भएको छ,’ उनले भने, ‘कर्मचारी र विद्यार्थीहरू पानी मर्मतमा जुटेका छौं,’
उनले पानी ल्याउने पाइप लाइन जंगलको बाटो भएर आएकोले त्यहाँका केही स्थानीयवासीले पाइप काट्ने, पाइपमा किला गाड्ने गर्दा पनि पानीको आपूर्ति नियमित हुन बताए । प्रिन्सिपल चौलागाईले भने, ‘स्थानीयले पटक–पटक पाइप काटिदिन्छन्, कहिले पाइपमा किला गाड्दिन्छन् त्यसले गर्दा झन समस्या भएको छ,’ पहिरोपछि पूर्ण रूपमा पानी बन्द भए पनि सोमवारदेखि थोरै मात्रामा पानी आउन थालेको प्रिन्सिपल चौलागाईले बताए । हाल शिक्षालयमा १ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । उनले आगामी दिनमा यस्तो समस्या पुनः नदोहोरियोस् भन्ने उद्देश्यले बर्खे बिदाको समयमा पानीको मुहान र पाइपलाइनको दिगो मर्मत गर्ने योजना रहेको जानकारी दिए ।
जाजरकोट बहुप्राविधिक शिक्षालयमा पानीको हाहाकार






कुलेन्द्र शाही । २०८२ जेष्ठ २० गते मङ्गलवार