
जाजरकोट। बडादशैँलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटले जिल्लाभर सुरक्षा सचेतना अभियान सञ्चालन गरेको छ। चाडपर्वका बेला हुन सक्ने चोरी, डकैती, लुटपाट तथा अन्य आपराधिक घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले घरदैलोदेखि बजारका चोकचोकसम्म पुगेर नागरिकलाई सचेत गराउन थालेको हो।

चाडपर्व मनाउन घरबाहिर जानेको संख्या बढ्ने, बजारमा मानिसको चहलपहल हुने र आर्थिक कारोबार बढ्ने समयमा आपराधिक गतिविधि हुन सक्ने जोखिमलाई ध्यानमा राखेर प्रहरीले सुरक्षा सचेतना अभियानलाई तीव्र बनाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख बुद्धिसागर पुरीले बताए । जिल्ला सदरमुकाम खलङ्गासहित मातहतका प्रहरी युनिटमार्फत घरदैलोमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, माइकिङ तथा साउन्ड सिस्टमबाट सुरक्षा सन्देश प्रवाह गर्ने र विभिन्न सार्वजनिक स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने काम भइरहेको उनको भनाइ छ।

चाडपर्वलाई सुरक्षित, मर्यादित र शान्तिपूर्ण बनाउन प्रहरीले नागरिकस्तरमै पुगेर सचेतना फैलाइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक पुरीले बताए। उनका अनुसार चाडपर्वको समयमा हुन सक्ने चोरी, लुटपाट, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी परिचालनसँगै नागरिकलाई सुरक्षा सतर्कताबारे जानकारी दिने काम भइरहेको छ।
प्रहरीले घर छाडेर बाहिर जाँदा घरको सुरक्षामा ध्यान दिन, अपरिचित व्यक्तिको गतिविधिप्रति सचेत रहन, बहुमूल्य सामान सुरक्षित राख्न र कुनै शङ्कास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ। सार्वजनिक स्थान, बजार तथा भीडभाड हुने क्षेत्रमा आफ्नो सामानको सुरक्षा गर्न र सवारीसाधन पार्किङ गर्दा आवश्यक सावधानी अपनाउनसमेत नागरिकलाई अनुरोध गरिएको छ।
बडादशैँलगायतका चाडपर्वलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउन सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज र सर्वसाधारणबीच सहकार्य आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी नवराज बरालले बताए। चाडपर्वका बेला हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायलाई सक्रिय बनाइएको उल्लेख गर्दै उनले नागरिकलाई पनि सचेत र जिम्मेवार भएर चाडपर्व मनाउन आग्रह गरे।

प्रमुख जिल्ला अधिकारी बरालका अनुसार शान्ति सुरक्षा कायम राख्नु प्रशासन र प्रहरीको जिम्मेवारी भए पनि सम्भावित घटना रोक्न नागरिकको सहयोग उत्तिकै महत्त्वपूर्ण हुन्छ। कुनै शङ्कास्पद गतिविधि, झैझगडा वा आपराधिक घटना देखिएमा समयमै सम्बन्धित निकायलाई जानकारी गराउँदा सम्भावित क्षति न्यूनीकरण गर्न सहयोग पुग्नेछ।
दशैँमा गाउँघर फर्किने तथा परिवार र आफन्तसँग भेटघाटका लागि बाहिर जानेको संख्या बढ्ने भएकाले घर तथा सम्पत्तिको सुरक्षामा विशेष ध्यान दिनुपर्ने प्रहरीले जनाएको छ। घर छाड्नुअघि ढोका, झ्याल र ताल्चा राम्रोसँग जाँच गर्ने, सम्भव भएसम्म छिमेकीलाई जानकारी गराउने र घरमा नगद तथा बहुमूल्य सामान खुला रूपमा नराख्न प्रहरीले सुझाव दिएको छ।
जिल्ला प्रहरी कार्यालयले चाडपर्व अवधिभर सुरक्षा सतर्कता बढाउँदै नागरिकसँगको समन्वयलाई प्राथमिकता दिने जनाएको छ। प्रहरीको घरदैलो अभियानले नागरिकलाई सम्भावित जोखिमबारे सचेत गराउनुका साथै प्रहरी र समुदायबीचको सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।






द मालिका पोष्ट । २०८३ असोज २४ गते शनिवार