
राजेन्द्र कार्की । जाजरकोट
भेरी नगरपालिका ४ निवासी माया शाह बुढाका सात बर्षिय छोरा प्रिन्स बुढाको पढाईको जिम्मा स्थानिय शान्ति ज्ञानकुञ्च आवासिय विद्यालयले लिने भएको छ । त्रिपाल भित्र तपतप चुहिने शीत र आँसु तथा त्रिपाल भित्रको त्यो पिडा शिर्षकमा विहिवार अन्नपुर्णपोष्ट र प्रवाह अनलाईनमा समाचार प्रकाशित भएपछि सो विद्यालयले पढाईको जिम्मा लिएको हो । प्रिन्सको आठ कक्षा सम्मको पढाईको जिम्मा विद्यालयले लिएको प्रिन्सिपल अनिश कार्कीले बताए ।
प्रिन्सका बुवाको निधन सँगै निकै नाजुक अवस्थामा रहेका ति बालकलाई पठनपाठन अघि बढाउन समस्या परि रहेको समाचारका माध्यामबाट जानकारी पाएपछि अभिभावक आमा मायालाई विद्यालयमै बोलाएर ८ कक्षा सम्मको पढाउने जिम्मा लिएको प्रिन्सिपल कार्कीले बताए । उनले भने ‘बुवाको मृत्युपछि विचल्लीमा परेका प्रिन्सको ८ कक्षा सम्मको भर्ना शुल्क, मासिक शुल्कका साथै अन्य शुल्क, पोशाक र स्टेशनरी खर्च सबै विद्यालयले ब्यहोर्ने छ ।’
स्थानिय भेरी प्राथमिक विद्यालयमा अध्ययनरत उनको पढाईको अवस्था हेरेर कति कक्षामा भर्ना लिने भन्ने बारे छिटो टङ्गो लगाईने प्रिन्सिपल कार्कीले बताए । आमा मायाले बाबुको पढाईको जिम्मा लिने विद्यालय र प्रिन्सिपललाई धन्यवाद दिईन । अर्को बाबु ३ बर्षको सानै छ । सात बर्षको ठुलो बाबुको पढाउने जिम्मा लिनुभएको छ । म खुसी छु । बाबुले राम्रो सँग पढिदिए सन्तोषको स्वास फर्न पाउने थिए । थोरै भएपनि पिडा कम हुने थियो उनले भनिन ।
मायाका श्रीमान भरत बुढा गाडी चलाउँथे तर गत भदौमा एक्कासी आत्महत्या गरेर प्राण त्यागेपछि उनको परिवार विचल्लीमा परेको हो । सासुससुरा विरामी हुनुहुन्छ । सात र तीन बर्षका दुई छोराहरु सानै छन् । ससुरा पदम बहादुर बुढा मृगौला रोगी र सासु राधिका दमको विमारी हुनुहुन्छ । काम गर्न सक्नुहुन्न, मायाले भनिन्–‘कुशे गाँउपालिकामा रहेको घर भुकम्पले ढल्यो । सदरमुकाम खलंगामा भाडामा बस्ने घर पनि भुकम्पले भत्काइ दियो । चर्केकै घरमा बसिरहेका थियौ । श्रीमानको मृत्युपछि कोठा भाडा तिर्ने पैसा नभएपछि सार्वजनिक जग्गामा त्रिपाल टाँगेर गुजरा चलाइरहेका छौ । एकसरो लुगाले रातभरको सिरेटो र शीत छल्नै सक्दैन । चिसोले निन्द्रै पदैन । न खाने गास छ न बस्ने बास नै । न त रोजगारी छ न अन्य केही कमाई र आम्दानी ।’






विनोद कुमार घर्ती (रिदम) । २०८१ पुष २५ गते बिहिवार