
जाजरकोट, असार ५ । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै स्वरोजगार तथा रोजगारमूलक पेशा–व्यवसाय सञ्चालन गरिरहेका ३५ जना व्यक्तिलाई उद्यमशीलता प्रवर्द्धन सम्बन्धी तालिम प्रदान गरिएको छ।
भेरी नगरपालिका अन्तर्गतको रोजगार, सीप तथा उद्यमशीलता केन्द्रको आयोजनामा सञ्चालन गरिएको उक्त तालिमको उद्देश्य वैदेशिक रोजगारीबाट आर्जन गरेको सीप, अनुभव र पुँजीलाई स्वदेशमै उत्पादनमूलक तथा आयआर्जनका क्षेत्रमा उपयोग गर्न प्रोत्साहन गर्नु रहेको आयोजकले जनाएको छ।
तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित भेरी नगरपालिकाका नगर प्रमुख ले वैदेशिक रोजगारीबाट फर्किएका नागरिकहरूलाई स्वदेशमै उद्यम गर्न प्रेरित गर्ने यस्ता कार्यक्रमले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “विदेशमा सिकेको सीप, अनुभव र पुँजीलाई आफ्नै गाउँ–ठाउँको विकासमा लगानी गर्न सकिन्छ। रोजगारीको खोजीमा विदेश जानु मात्रै विकल्प होइन, स्वदेशमै उद्यम गरेर आत्मनिर्भर बन्न सकिन्छ। भेरी नगरपालिका युवाहरूलाई रोजगार र उद्यमसँग जोड्न निरन्तर लागिरहेको छ।”
उहाँले नगरपालिकाले कृषि, पशुपालन, घरेलु तथा साना उद्योग, पर्यटनलगायतका क्षेत्रमा उद्यमशीलता प्रवर्द्धन गर्ने नीति लिएको उल्लेख गर्दै युवाहरूलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्न यस्ता तालिमलाई आगामी दिनमा समेत निरन्तरता दिइने जानकारी दिनुभयो।
कार्यक्रममा भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत , सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका प्रदेश व्यवस्थापक , कार्यक्रम अधिकृत , रोजगार संयोजक लगायतको उपस्थिति रहेको थियो।

तालिममा सहभागीहरूले व्यवसाय योजना निर्माण, वित्तीय व्यवस्थापन, बजार व्यवस्थापन, उद्यम दर्ता प्रक्रिया तथा स्थानीय स्रोतसाधनको उपयोग सम्बन्धी ज्ञान र सीप हासिल गर्नेछन्। कार्यक्रमले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई स्वदेशमै आत्मनिर्भर बन्न र नयाँ व्यवसाय सुरु गर्न थप हौसला मिल्ने विश्वास गरिएको आयोजकले जनाएको छ।







द मालिका पोष्ट । २०८३ असार ५ गते शुक्रवार