
तस्विर: कुलेन्द्र शाही
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख देवका लामिछानेले जनताको गुनासो र सुझाव संकलन गर्न गाउँगाउँ पुग्ने अभियान थालेकी छन् । गत १६ मङ्सिरमा सम्पन्न उपनिर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित उनले पदभार सम्हाले यता नगरपालिकाका १३ वटै वडामा पुगेर जनताको आवाज सुन्ने अभियान थालेकी हुन् ।
पालिकामा मात्र बस्दा स्थानीयको वास्तविक समस्या थाहा नहुने भएकाले गाउँमै पुगेर गुनासो र सुझाव संकलन गर्ने अभियान थालेको उपप्रमुख लामिछानेले बताइन् । नलगाडका धेरै गाउँमा खानेपानी, बिजुली, स्वास्थ्य सेवा र यातायातजस्ता आधारभूत सेवा अभाव छ,’ उनले भनिन्, ‘पालिकामा बस्दा यस्ता समस्या देखिँदैन । त्यही भएर गाउँगाउँ पुगेर समस्या र सुझाव संकलनमा लागेको हो । अहिले गाउँका वास्तविक समस्या बुझ्न सकेको छु ।,’
जनगुनासोमा सबैभन्दा बढी खानेपानीको समस्या उठेको उनले बताइन् । उनले गत २०८० सालको कार्तिक १७ गते गएको भूकम्पपछि धेरै स्थानमा खानेपानीका मुहान सुक्दै गएकाले ग्रामीण बासिन्दा समस्यामा परेका गुनासो आएको बताइन् । यातायात सेवा अझै नपुगेका वडा नम्बर १२ र १३ का बासिन्दाले आफ्नै कार्यकालमा यातायातको पहुँचमा जोड्दिन आग्रह गरेको उनको भनाइ छ ।
‘१२ र १३ नम्बर वडामा अहिले पनि सडक पुगेको छैन,” उनले भनिन्, ‘घरदैलोमा पुग्दा स्थानीयले सडकका लागि जोडदार आग्रह गर्नुहुन्छ ।,’ स्वास्थ्य संस्थाको अभावले सुत्केरी, जेष्ठ नागरिक र बालबालिकालाई ठूलो समस्या भएको गुनासो आएको उनको भनाइ छ । उपप्रमुख लामिछानेले नागरिकका यस्ता गुनासोलाई आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिने प्रतिबद्धता जनाइन्।






द मालिका पोष्ट । २०८२ जेष्ठ २२ गते बिहिवार