रास्वपा कर्णाली प्रदेश अधिवेशन सम्पन्न : सभापतिमा मदन खड्का, कोषाध्यक्षमा जाजरकोटका नवीन खड्का

जाजरकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेश अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ प्रदेश नेतृत्व चयन गर्दै पार्टीले संगठन विस्तार, सुशासन र जनमुखी राजनीतिक अभियानलाई केन्द्रमा राखेर आगामी कार्यदिशा तय गरेको जनाएको छ।

सार्वजनिक गरिएको मत परिणामअनुसार मदन खड्का प्रदेश सभापतिमा निर्वाचित भएका छन् भने जाजरकोटका नवीन खड्का प्रदेश कोषाध्यक्षमा चयन भएका छन्।

सभापति पदमा भएको प्रतिस्पर्धामा मदन खड्काले २६५ मत प्राप्त गर्दै स्पष्ट बहुमतसहित विजय हासिल गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नन्दकिशोर बस्नेतले ३५ मत प्राप्त गरे भने अर्की उम्मेदवार स्नेहा उपाध्याय नेपालले ६३ मत प्राप्त गरिन्। मत परिणामले मदन खड्काले संगठनभित्र बलियो समर्थन प्राप्त गरेको संकेत गरेको छ।

अधिवेशनबाट उपसभापतिमा तुलाराज खड्का निर्वाचित भएका छन्। त्यसैगरी महामन्त्रीमा ललित चन्द चयन भएका छन् भने सहमहामन्त्रीमा राजबहादुर शाह र लक्ष्मी भट्टराई चयन भएका छन्। कोषाध्यक्ष पदमा जाजरकोटका नवीन खड्का निर्वाचित भएका हुन्।

नवनिर्वाचित नेतृत्वसँगै प्रदेश कार्यसमिति पनि चयन गरिएको छ। सदस्यमा कमल रावत, बुधे बुढा, कृष्णबहादुर खड्का, राजेन्द्र प्रसाद शर्मा, आकाश थापा, नवीन खड्का, सन्तोष बुढाथोकी, सङ्गम गौतम, दानबहादुर बुढा, मोहन सुनार, टेकबहादुर चुनारा, गौरा कुमारी घर्ती, निर्मला शाही, शिलु थापा, सरस्वती बुढा, खगिसरा बुढा, राधा कुमारी ढकाल, मनकुमारी सुनार, देवी बिक, रामप्रसाद पाण्डे तथा यामराज पन्त चयन भएका छन्।

प्रदेश सदस्यतर्फ पनि विभिन्न जिल्ला र समूहबाट प्रतिनिधित्व सुनिश्चित गरिएको निर्वाचन समितिले जनाएको छ। जाजरकोट क्षेत्रबाट नवीन खड्काले २१२ मत प्राप्त गर्दै सदस्यमा विजय हासिल गरेका छन् भने केही पदमा उम्मेदवारहरू निर्विरोध चयन भएका थिए। डोल्पा क्षेत्रबाट स्वनामे बुढाथोकी निर्विरोध निर्वाचित भएको विवरण सार्वजनिक गरिएको छ।

अधिवेशनपछि नवनिर्वाचित नेतृत्वले कर्णाली प्रदेशभर संगठन सुदृढीकरण, जनसमस्याका मुद्दालाई प्राथमिकतामा राख्ने, पार्टीलाई गाउँ–गाउँसम्म विस्तार गर्ने तथा कार्यकर्ताको सक्रिय सहभागितासहित संगठन निर्माणलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।

निर्वाचन समितिले सम्पूर्ण निर्वाचन प्रक्रिया विधान र कार्यविधिअनुसार सम्पन्न भएको जनाएको छ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया