
जाजरकोट, असार ३ । जाजरकोटको नलगाड नगरपालिका–३ पारिकरुवास्थित श्री नमुना प्राथमिक विद्यालयमा कार्यरत एक शिक्षक प्रहरी हिरासतमा रहेका बेला पनि विद्यालयको हाजिरी रजिस्टरमा नियमित उपस्थित देखिएको घटना सार्वजनिक भएको छ।
विद्यालयमा राहत शिक्षकका रूपमा कार्यरत दलबहादुर थापा जेठ १४ गतेदेखि जिल्ला प्रहरी कार्यालय जाजरकोटको हिरासतमा रहेका थिए। गाउँकै एक महिलामाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका थापा करिब २० दिनसम्म हिरासतमा बसेका थिए। तर उनी हिरासतमा रहेका अवधिभर विद्यालयको हाजिरी रजिस्टरमा भने उपस्थित जनाइएको पाइएको छ।
प्राप्त जानकारी अनुसार थापाको जेठ महिनाभर, विशेषगरी जेठ २९ गतेसम्मको हाजिरी विद्यालयमा रहेको देखिएको छ। विद्यालयमा अनुपस्थित रहेर पनि हाजिरी कायम गरिएको विषय सार्वजनिक भएपछि विद्यालय प्रशासन र स्थानीय समुदायमा चासो बढेको छ।
विद्यालयकी प्रधानाध्यापक लक्ष्मी थापाका अनुसार जेठ १४ गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा परेकाले विद्यालय जेठ १८ गते खुलेको थियो। विद्यालय खुलेपछि मात्र सम्बन्धित शिक्षक हिरासतमा रहेको र हाजिरीसम्बन्धी विषय जानकारीमा आएको उनले बताइन्।
प्रधानाध्यापक थापाले उक्त घटनाबारे आवश्यक कारबाहीका लागि नलगाड नगरपालिकामा पत्राचार गरिएको जानकारी दिइन्। “शिक्षक विद्यालयमा उपस्थित नभएर पनि हाजिरी कायम भएको विषय गम्भीर छ। यसबारे आवश्यक प्रक्रिया अघि बढाउन पालिकालाई जानकारी गराइएको छ,” उनले भनिन्।
यता नलगाड नगरपालिकाका शिक्षा शाखा प्रमुख अमृत पुनले घटनाबारे अध्ययन गरी आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइने बताए। उनका अनुसार तथ्यको आधारमा दोषी देखिएमा सम्बन्धित व्यक्तिमाथि कारबाही गरिनेछ।
स्थानीय अभिभावक तथा गाउँलेहरूले भने पटक–पटक कानुनी विवादमा परेका व्यक्तिलाई शिक्षण पेशामा निरन्तरता दिनु उपयुक्त नहुने बताएका छन्। उनीहरूले विद्यालयमा अनुशासन, नैतिकता र उत्तरदायित्व कायम गर्न सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्ने माग गरेका छन्।
घटनाले विद्यालय प्रशासन, शिक्षकको जिम्मेवारी र हाजिरी व्यवस्थापनको पारदर्शितामाथि प्रश्न उठाएको छ। अब यस विषयमा सम्बन्धित निकायले गर्ने छानबिन र कारबाहीलाई स्थानीयवासीले चासोका साथ हेरिरहेका छन्।






द मालिका पोष्ट । २०८३ असार ३ गते बुधवार