शसस्त्र प्रहरी बल नेपलको २५ औँ स्थापना दिवसको अबसरमा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

जाजरकोट । शसस्त्र प्रहरी बल नेपालको २५औँ स्थापना दिवसको अवसरमा शुक्रबार जाजरकोटमा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। शसस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर जाजरकोटको आयोजनामा सम्पन्न प्रतियोगितामा त्रिभुवन माध्यमिक विद्यालय खलंगाकी कक्षा १० मा अध्ययनरत छात्रा सुचारु कार्की प्रथम भएकी छन्।

लागु औषध, सीमा सुरक्षा र युवासम्बन्धी विषयमा केन्द्रित प्रतियोगितामा शिव माध्यमिक विद्यालय कालेगाउँकी कक्षा ९ की छात्रा इरा केसी द्वितीय तथा त्रिभुवन माध्यमिक विद्यालय खलंगाकै कक्षा १० मा अध्ययनरत छात्र खिमबहादुर खड्का तृतीय भएका छन्। प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः नगद २ हजार ५ सय, १ हजार ५ सय र १ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

भेरी नगरपालिका भित्रका आठ विद्यालयका १४ जना विद्यार्थीको सहभागिता रहेको उक्त प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई प्रमुख अतिथि भेरी नगरपालिकाकी नगर उपप्रमुख सीता जैसी, शसस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर जाजरकोटका प्रमुख शसस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सुजन थापा तथा त्रिभुवन माध्यमिक विद्यालय खलंगाका प्रधानाध्यापक भक्तबहादुर मल्लले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख जैसीले आजका बालबालिका नै भोलिका राष्ट्रका कर्णधार भएको उल्लेख गर्दै लागु औषध दुर्व्यसन आजको जल्दोबल्दो सामाजिक समस्याका रूपमा देखा परेको बताइन्। उनले यस्तो समस्याको न्यूनीकरणका लागि विद्यालय तहबाटै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै स्थापना दिवसको अवसरमा विद्यार्थी केन्द्रित प्रतियोगिता आयोजना गरेकोमा शसस्त्र प्रहरी बलको प्रशंसा गरिन्।

त्यसैगरी, कार्यक्रमका अध्यक्ष तथा शसस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर जाजरकोटका प्रमुख डिएसपी सुजन थापाले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै युवालाई लागु औषध, सीमा सुरक्षा र समसामयिक विषयमा सचेत गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। लागु औषध दुर्व्यसनले समाज, विशेष गरी युवा पुस्तामा गम्भीर असर पारिरहेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरू नियन्त्रण र युवा सशक्तीकरणमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे।

वक्तृत्वकला प्रतियोगिताको निर्णायक मण्डलमा शिक्षक जनक केसी, शिक्षक ज्योती कार्की तथा पत्रकार विनोद घर्ती रहेका थिए।

कार्यक्रममा भेरी नगरपालिका शिक्षा शाखा प्रमुख प्रमोद विष्ट, त्रिभुवन माविका प्रधानाध्यापक भक्तबहादुर मल्ल, नेपाल पत्रकार महासंघ जाजरकोटका उपाध्यक्ष विनोद कुमार घर्ती, सचिव रेशमबहादुर खड्का, नेपाल प्रेस युनियन जाजरकोटका अध्यक्ष वासुदेव शर्मा तथा नेपाल पत्रकार महासंघ जाजरकोटका सल्लाहकार दीपबहादुर घर्ती लगायत करिब १ सय जना बिध्यार्थिहरुको उपस्थिति रहेको थियो।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया