दमकल अभावले ८५ लाखभन्दा बढी क्षति ,चौतर्फी विरोध

जाजरकोटमा मध्येरात भीषण आगलागी:

भेरी नगरपालिका ४ शान्तीचौतारा बसपार्क क्षेत्रमा गएराति करिब भएको भीषण आगलागीबाट लाखाैकाे सामान नष्ट भएकाे छ । कर्ण वलिको सौरव एण्ड गौरव इलेक्ट्रोनिक्स तथा कपडा पसल पूर्ण रूपमा जलेर नष्ट भएको हाे । आगलागीका कारण पसलभित्र रहेका सम्पूर्ण सामग्री जलेर खरानी भएकाे जिल्ला प्रहरी कार्यालय जाजरकाेटले जनाएकाे छ। उक्त पसलसँगै रहेको पृथी बहादुर चन्दको न्यु सिद्धार्थ गेस्ट हाउसमा पनि आगलागी फैलिँदा त्यहाँका भौतिक सामग्रीहरूमा क्षति पुगेको छ। यद्यपि, घटनामा कुनै मानवीय क्षति भने भएको छैन।

May be an image of fire and text that says "TURORG XXK 4G"

आगलागी भएको लगत्तै परिवारले सबैलाई हारगुहार गरे पनि समयमै सुरक्षाकर्मी नआउदा क्षती धेरै भएकाे हाे । घटनास्थलमा पुग्न केही ढिलाइ भएको स्थानीयकाे गुनासाे छ ।  आगो तीव्र रूपमा फैलिएकाले स्थानीयवासी र सुरक्षाकर्मीहरूले धेरै प्रयास गर्दा पनि जलिरहेको पसल पूर्ण रूपमा जोगाउन सकिएन। घटनापछि सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयवासीहरूको सक्रिय समन्वयमा आगो नियन्त्रणमा लिइएको थियो । पसल सञ्चालक कर्ण वलिका अनुसार आगलागीबाट करिब ८०–८५ लाख रुपैयाँ बराबरको सामान तथा नगद रु २ लाख ५० हजार गरी ठूलो आर्थिक क्षति भएको छ ।

भावुक हुँदै उनले भने, “जिल्लामा समयमै दमकलको व्यवस्था भएको भए मेरो पसल यति ठूलो क्षतिबाट जोगिन सक्थ्यो। धेरै क्षति हुने थिएन। यस्ता भैपरी आउने घटना रोक्न स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारले जिल्लामा कम्तीमा एउटा दमकलको व्यवस्था गरिदिए राम्रो हुने थियो। मेरो जस्तो अवस्था अरू कसैको नहोस्।” घटनापछि पीडित व्यवसायीलाई सान्त्वना दिन विभिन्न राजनीतिक दलका नेताहरू तथा स्थानीयवासीहरूको बाक्लो उपस्थिति देखिएको छ। सदरमुकाम क्षेत्रमै आगलागी नियन्त्रणका लागि पर्याप्त स्रोत–साधनको अभाव देखिनु गम्भीर चिन्ताको विषय बनेको छ। क्षतिको विस्तृत विवरण संकलन कार्य जारी रहेको जनाइएको छ। उक्त घटना पश्चात जाजरकाेट उद्योग बाणिज्य स‌ंघ जाजरकाेटले आपतकालिन बैठक आव्हान गरेकाे छ ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया