जाजरकोट । जाजरकोट जिल्लाको छेडागाड नगरपालिका–१० मा ७० वर्षीय गोल्फे कामीमाथि कुटपिट भएको छ। घटनाबारे पीडित स्वयं गोल्फे कामीले इलाका प्रहरी कार्यालय छेडागाडमा लिखित निवेदन दर्ता गराएका छन्।
निवेदनअनुसार छेडागाड नगरपालिका–१० का वडा अध्यक्ष जयनाथ योगी सोही वडाका हेमनाथ योगी र गोरखनाथ योगीले आफ्नो पार्टीलाइ भोट नदिएको विषयलाई लिएर गोल्फे कामीमाथि मानसिक दबाब दिँदै कुटपिट गरिएको छ। उक्त घटनामा उनीमाथि दुर्व्यवहारसमेत गरिएको र कुटपिटका कारण घाइते भई स्वास्थ्य अवस्था कमजोर बनेको जनाइएको छ।
घाइते कामीको हाल मध्यपहाडी हस्पिटल प्राली मा उपचार भइरहेको छ। चिकित्सकको निगरानीमा उनको उपचार जारी रहेको अस्पताल स्रोतले जनाएको छ। प्रारम्भिक उपचारपछि थप चिकित्सकीय निगरानी आवश्यक पर्न सक्ने बताइएको छ।
पीडित गोल्फे कामीले घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिहरूमाथि कानुनअनुसार कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन्। साथै उपचार खर्च व्यहोर्ने व्यवस्था र आफ्नाे सुरक्षाको सुनिश्चितता गरिदिनसमेत सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
इलाका प्रहरी कार्यालय छेडागाडका अनुसार निवेदन प्राप्त भइसकेको छ र घटनाको सत्यतथ्य बुझ्न आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। स्थानीय तहमा जनप्रतिनिधिसँग जोडिएको यस घटनाले नागरिक सुरक्षा, मानवअधिकार तथा कानुनी शासनको कार्यान्वयनप्रति गम्भीर प्रश्न उठाएको स्थानीयवासीको भनाइ छ।








द मालिका पोष्ट । २०८२ फाल्गुन १४ गते बिहिवार