
जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा मोबाइल नेटवर्क सेवा घाम अस्ताएसँगै अवरुद्ध हुने गरेको छ। स्थानीयका अनुसार साँझ घाम अस्ताएलगत्तै मोबाइल नेटवर्क बन्द हुने र भोलिपल्ट बिहान घाम लागेपछि मात्र पुनः सुचारु हुने गरेको छ।
पश्चिम जाजरकोट विकास समाज शिवालय गाउँपालिकाका कार्यक्रम व्यवस्थापक रामप्रसाद जैसीका अनुसार साँझ करिब ६ बजेदेखि नेटवर्क गायब हुने र बिहान ७ बजेतिर मात्रै सेवा फर्किने गरेको छ। उनले घाम नलागेका दिन वा वर्षा तथा बादल लागेको समयमा दिउँसै पनि सिग्नल हराउने समस्या रहेको बताए।
मोबाइल नेटवर्क अवरुद्ध हुँदा बिरामीलाई उपचारका लागि खबर गर्न, आकस्मिक घटनाको जानकारी दिन तथा आपत्कालीन सेवा लिनसमेत कठिनाइ हुने गरेको स्थानीयहरूको गुनासो छ।
शिवालय–५ का स्थानीय महेन्द्र शाहीले सामान्य पानी परे वा बादल लागे पनि नेटवर्क बन्द हुने गरेको बताए। उनका अनुसार घाम लागेको दिन बेलुकीसम्म सेवा उपलब्ध भए पनि वर्षा वा बदली भएको दिनमा दिउँसै नेटवर्क हराउने गर्छ। ‘फोन लागे पनि घाम लागेको दिन मात्रै राम्रोसँग कुरा हुन्छ, अन्य समयमा सेवा प्रभावकारी हुँदैन,’ उनले भने, ‘कहिलेकाहीँ घाम लागेको दिनमा समेत फोनमा आवाज नसुनिने र आफैँ कल कट्ने समस्या हुन्छ।,’
अर्का स्थानीय टोपेन्द्र शाहीले पनि नेटवर्क समस्याले दैनिक जीवन प्रभावित भएको बताए। ,’दिउँसो होस् वा बेलुका, राम्रोसँग नेटवर्क आउँदैन,’ उनले भने, ,’यो विषयमा न यहाँका सांसदले चासो दिएका छन्, न गाउँपालिकाले नै प्रभावकारी पहल गरेको देखिन्छ।,’ यो समस्या कुनै एक-दुई वडामा सीमित नभई गाउँपालिकाभर फैलिएको छ। यही गाउँपालिका कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह र प्रतिनिधिसभा सदस्य खडकबहादुर बुढाको गृहपालिका पनि हो। मन्त्री र सांसदकै पालिकामा आधारभूत सञ्चार सेवा प्रभावित हुँदा स्थानीयहरू आक्रोशित बनेका छन्।
यता शिवालय गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाहीले सोलार ऊर्जाबाट सञ्चालन हुने टेलिकम टावरमा पर्याप्त घाम नलाग्दा ब्याट्री चार्ज हुन नसक्ने र त्यसकै कारण सेवा अवरुद्ध हुने गरेको बताए। नेपाल टेलिकम जाजरकोटले भने मौसमका कारण नेटवर्क सेवामा समस्या देखिने गरेको जनाएको छ। प्रतिनिधिसभा सदस्य बुढाले नेटवर्क समस्याको समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय र छलफल भइरहेको बताए ।
उनका अनुसार सोलार ऊर्जाबाट सञ्चालन भइरहेका टावरहरूको ब्याट्री चार्ज सकिँदा सेवा अवरुद्ध हुने समस्या देखिएको हो। उनले दीर्घकालीन समाधानका लागि टावर रहेका स्थानमा विद्युत् विस्तार आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि आफू सक्रिय रूपमा पहल गरिरहेको दाबी गरे।






द मालिका पोष्ट । २०८३ जेष्ठ २५ गते सोमवार