
नेपालको संविधान भन्छ – हरेक नागरिकलाई आधारभूत शिक्षा निःशुल्क र अनिवार्य रूपमा पाउने हक छ। माद्यामिक तह सम्मको शिक्षा निःशुल्क बनाउने भनिएको छ। तर जिल्लाका सामुदायिक विद्यालयहरू हेर्दा लाग्छ, संविधान कहिल्यै पढिएको नै छैन।
यहाँका अधिकांश विद्यालयले कक्षा ११ र १२ मा पढ्नेलाई बार्षिक हजारौं रुपैयाँ ‘फीस’ लिइरहेका छन्। नाम त “सामुदायिक” – तर व्यवहार चाहिँ ‘प्राइभेट स्कूल’ भन्दा कम छैन।
निःशुल्क शिक्षा भनेको खोइ कहाँ भयो ?
जिल्लाका ग्रामीण गाउँहरूमा जहाँ बाआमाले भारत गएर दैनिक ५०० रुपैयाँ कमाउँछन्, त्यहाँ छोराछोरीले पढ्न शुल्क तिर्न नसकेर पढाइ छोड्नुपरेको छ।
कुनै छोरीले किताब छोडेकी छ, कुनैले असाइन्मेन्ट दिन सकेकी छैन, कसैले १२ कक्षा पास नगरेकै कारण विदेश जाने सपना मारेका छन्।
त्यो पनि सामुदायिक विद्यालयमा !
विद्यालयले कम्प्युटर शुल्क लिन्छ, तर कम्प्युटर नै छैन। परीक्षा शुल्क लिन्छ, तर प्रमाणपत्र झण्डै साल दिन पाउँदैन। भवन मर्मत शुल्क उठाउँछ, तर ढोका भाँचिएको छ। कहाँ गयो पैसा?
शिक्षकको जवाफ:
“सरकारी अनुदानले पुग्दैन। गुणस्तरीय शिक्षा दिन शुल्क लिन्छौं।”
– एक विद्यालयका प्रअ
शिक्षकको भनाइको सम्मान गरौं। तर संविधानको समेत बेवास्ता गरेर गरिब परिवारलाई शोषण गर्नु? त्यो त अन्याय हो।
संविधान के भन्छ ?
धारा ३१ (१) – हरेक नागरिकलाई आधारभूत शिक्षा अनिवार्य र निःशुल्क पाउने हक
धारा ३१ (२) – माध्यमिक शिक्षा पनि निःशुल्क हुने
शिक्षा ऐन, नियमावली – सामुदायिक विद्यालयले शुल्क लिन नमिल्ने
तर व्यवहार?
“निःशुल्क” शिक्षा – तर शुल्क नतिरे पढ्न नपाउने नियम !
को गर्छ निगरानी?
न पालिकाले हेर्छ, न शिक्षा विकास तथा समन्वय इकाईले ।
न त विद्यालय व्यवस्थापन समितिका सदस्यहरूले आवाज उठाउँछन्।
अभिभावकहरू डराउँछन् – “फीस नतिरे छोराछोरीलाई हेप्ला कि !”
मिडियाले रिपोर्ट गर्छ, तर सुधार कतै देखिँदैन।
अब के गर्ने?
विद्यालयको शुल्क विवरण सार्वजनिक गरौं।
अनुगमन समिति बनाऔं।
शिक्षामा गरिबका लागि राहत कोष बनाऔं।
अभिभावक, विद्यार्थी र शिक्षकको संवाद गरौं।
संविधानको हक मागौं – दया होइन, अधिकार।
निष्कर्ष:
शिक्षा पैसाले होइन, अधिकारले मिल्नुपर्छ।
सामुदायिक विद्यालय भनेकै सबैका लागि हो।
गरिबका छोराछोरी पढ्न नपाउने समाज लोकतान्त्रिक हुँदैन।
अब यस्ता प्रश्न उठाउनु जरुरी छ ।
हामी संविधानले दिएको हक किन माग्न डराइरहेका छौं ?
(लेखक केवि दर्शण www.hamropahuch.com का सन्चालक हुन )






कालि बहादुर नेपाली (KB DARSHAN) । २०८२ असार ३ गते मङ्गलवार