मनको डायरीबाट: जिन्दगीका अध्यायहरू

करसिङ कठायत

जिन्दगीको गोरेटो साँघुरो पनि हुन्छ, फाटिएको पनि हुन्छ, कहिलेकाहीँ उज्यालो छरिएको, त कहिले बादलले ढाकिएको। यिनै गोरेटाहरूमा हिँड्दा मैले केही यस्ता अनुहारहरू भेटें, जसले मेरो जीवनको दिशा मात्र होइन, सोच्ने तरिका नै बदलिदिए। म जाजरकोटको एउटा विकट गाउँमा जन्मिएको एक साधारण व्यक्ति हुँ – जहाँ शिक्षा, स्वास्थ्य, अनि अवसरहरूको सधैं अभाव रह्यो। तर यिनै अभावका बिच मैले केही असाधारण व्यक्ति भेटें, जो मेरा जीवनका पाथे सहयात्री बने।

१. मेरो पुरानो शिक्षक पहिलो प्रेरणा गाउँको पुरानो प्राथमिक विद्यालयका एक शिक्षक थिए, जसको हातमै मैले पहिलो अक्षर चिनेको हुँ। उहाँको अनुशासन, सरल जीवनशैली र हामीप्रतिको माया आज पनि सम्झन्छु। एकदिन उहाँले मलाई भनेको कुरा आज पनि मनमा गढेको छ । “तिमी जहाँ जन्मियौ त्यो तिमीले चुनेका हैनौ, तर तिमी कस्तो व्यक्ति बन्नेछौ त्यो तिमी आफैंले बनाउने हौ।” सायद त्यही दिनदेखि मैले आफूलाई कहिल्यै सानो नठानेको हुँ।

२. काठमाडौंको एक होटलमा भेटिएको दाइ जब पहिलो पटक राजधानी काठमाडौं पुगेको थिएँ, म एक्लो थिएँ, डराएको थिएँ, र आफ्नो ठाउँभन्दा निकै पर। त्यहाँ मैले एकजना होटलमा काम गर्ने दाइलाई भेटें, जसले मलाई न्यानो स्वागत गर्नु भयो। उहाँले मलाई बाटो देखाउनु भयो – केवल शहरको बाटो हैन, जिन्दगीको पनि। उहाँसँगै केही महिना बसेँ, र मैले आत्मविश्वास, सहकार्य र संघर्षको अर्थ बुझ्न थालेँ।

३. बुटवलमा भेटिएको साथी – शिक्षा र जीवनको यात्रा हाल म बुटवलमा बसेर उच्च शिक्षा अध्ययन गर्दै छु ,त्यही क्रममा मैले एकजना साथीलाई भेटें जसको संघर्ष र आत्मबल देखेर म अचम्ममा परें। उहाँ गाउँबाट आएका, ठ्याक्कै म जस्तै पृष्ठभूमिका व्यक्ति हुनुहुन्थ्यो, तर उहाँको जीवनको योजना स्पष्ट थियो। उहाँसँगको साथले मलाई पनि आफ्नो भविष्यप्रति गम्भीर बनायो। हाम्रो संघर्ष साझा थियो, सपना पनि साझा भयो।

४. राजनीति गर्ने क्रममा भेटिएका पात्रहरू जब मैले स्वतन्त्र ढंगले सामाजिक र राजनीतिक कामहरूमा संलग्न हुन थालेँ, तब मैले धेरै किसिमका मानिसहरू भेटें। कोही केवल स्वार्थका लागि नजिकिए, कोही निःस्वार्थ सहयोगी बने। केहीले धोका दिए, केहीले समर्थन गरे। तर ती सबै अनुभवहरूले मलाई निर्णय गर्ने, सत्य छुट्याउने र अगाडि बढ्ने हिम्मत दिन थाले। सायद जीवन भनेको यस्तै हो – अनुभवको पाठशाला।

५. मायामा चोट दिने तर सोच बदलिदिने व्यक्ति जीवनको एउटा मोडमा मैले माया पनि पाएँ – र त्यसैमा चोट पनि। उहाँले साथ छोड्दा म भित्रैदेखि भत्किएको थिएँ। तर त्यही क्षणले मलाई आत्मनिर्भर बनायो। मैले सिकें – पहिले आफैँलाई माया गर्न सिक्नु पर्छ। अनि त्यो चोट नै मेरो आत्म-उत्थानको सुरुवात बन्यो।

–l जिन्दगीको यो साँघुरो तर सार्थक यात्रामा मैले भेटेका ती पात्रहरू मेरा शिक्षक, साथी, आलोचक, प्रेरक, र कहिलेकाहीँ परिक्षणकर्ताहरू पनि थिए। उनीहरूले मलाई दुःख पनि दिए, प्रेरणा पनि। ती सबैको संयोगले आज म यहाँ छु – अझै बाटो बाँकी छ, सपना अधुरा छन्, तर आत्मबल बलियो बनिसकेको छ। म विश्वास गर्छु, आगामी दिनहरूमा पनि मैले यस्तै अरू अनुहारहरू भेटिरहनेछु – जो मलाई जीवनका नयाँ अध्याय लेख्न प्रेरित गर्नेछन्।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया