
जाजरकोट ।
जाजरकोटको कुशे गाउँपालिका–८, ग्राक्लीमा गएराति भएको आगलागीमा १२ वर्षीय बालकको जलेर मृत्यु भएको छ। जनक रोकायको घरमा राति करिब १२:०० बजे अचानक आगलागी हुँदा उनका १२ बर्षीय छोराकाे घटनास्थलमै मृत्यु भएको हो। अन्य परिवारका सदस्यहरू भने स्थानीयको सहयोगमा उद्दार गरिएका छन्।
घटनाको जानकारी पाएलगत्तै वडा अध्यक्ष डिल्लीराज सिंहले प्रहरी चौकी पैकलाई खबर गरेका थिए। त्यसपछि प्रहरी निरीक्षक कालिराम थारुको कमाण्डमा प्रहरी टोली राति नै घटनास्थलतर्फ खटिएको थियो।
प्रहरीका अनुसार आगलागी जनक रोकायको ढुंगा–माटोले बनेको दुईतले कच्ची घरमा खाना पकाउने क्रममा भएको खुलेको छ। माथिल्लो तलामा सुतेका अम्मर रोकायलाई उद्धार गर्न नसकिएको प्रहरी निरीक्षक कालिराम थारुले बताए।
आगलागीबाट घर पूर्ण रूपमा नष्ट हुनुका साथै, भित्र रहेका अन्नपात, भाँडावर्तन, लत्ताकपडा, काठपात, आठ आना तौलको सुनको तिलहरी, र नगद रू. १ लाख २५ हजार समेत जलेर नष्ट भएको छ।
स्थानीय र प्रहरीले बिहान ४:१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याएका थिए। घटनामा कुनै पशुचौपायाको क्षति नभएको जनाइएको छ। यस घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, जाजरकोटबाट प्रहरी निरीक्षक हरिराम डाँगीको नेतृत्वमा प्रहरी टोली खटिएको छ।
कुशे गाउँपालिकामा आगलागी, १२ वर्षीय बालकको मृत्यु






विनोद कुमार घर्ती (रिदम) । २०८१ फाल्गुन २६ गते सोमवार