
जाजरकोट । छेडागाड नगरपालिका ३ दशेरा जनज्ञाकुञ्ज क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हस्तक्षेप भएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले गम्भीर आपत्ति जनाएका छन्।
संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले विद्यार्थीहरूको लोकतान्त्रिक अधिकार सुनिश्चित गर्दै निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र अवाध रूपमा सञ्चालन गर्न माग गरेका छन्। उम्मेदवारी दर्ताका क्रममा गरिएको हुलहुज्जत र अवरोधप्रति ध्यानाकर्षण गराउँदै, त्रिभुवन विश्वविद्यालयले तोकेको कार्यतालिकाअनुसार निर्वाचन तत्काल अघि बढाउन आग्रह गरिएको छ।
विज्ञप्तिमा, नेविसंघ जाजरकोटका अध्यक्ष अनिश कार्की र अनेरास्ववियु जाजरकोटका अध्यक्ष प्रकाश मान सिंहले हस्ताक्षर गर्दै निर्वाचन प्रकृयालाई प्रभावित पार्ने गतिविधिहरूको विरोध गरेका छन्। साथै, यदि निर्वाचन प्रक्रिया अघि नबढाए सशक्त आन्दोलन गर्ने चेतावनी दिँदै, त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिणामको जिम्मेवारी क्याम्पस प्रशासनले लिनुपर्ने स्पष्ट पारेका छन्।
उक्त विज्ञप्ति जिल्ला प्रशासन कार्यालय, जाजरकोट र त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौंमा समेत पठाइएको जानकारी दिइएको छ।







विनोद कुमार घर्ती (रिदम) । २०८१ फाल्गुन २८ गते बुधवार