“गाउँको विकासका लागि गाउँदेखि केन्द्रसम्म एमाले नेतृत्व अपरिहार्यः नेता आचार्य”

रेशम बहादुर खड्का ।  जाजरकोट — गाउँको विकासका लागि गाउँदेखि केन्द्रसम्म एमाले सरकार आवश्यक रहेको नेकपा एमालेका नेता तथा निर्वाचन विभाग प्रमुख आचार्यले बताएका छन् । बुधवार स्थानीय तहको उपनिर्वाचनलाई लक्षित गरी जाजरकोटको नलगाड नगरपालिका वडा नं. १० र ११ मा आयोजित विभिन्न चुनावी सभालाई सम्बोधन गर्दै नेता आचार्यले गाउँको विकासका लागि एमाले सरकार निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनले रावत गाउँ, बानियाँ गाउँ, दम्मका लगायतका गाउँ र टोलमा भएका भेलाहरूमा सम्बोधन गर्दै माओवादी नेतृत्वको विगतका सरकारहरूले विकासका क्षेत्रमा असफलता व्यहोरेको आरोप लगाए । आचार्यका अनुसार माओवादीले स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसम्म जितेका क्षेत्रमा विकासको कुनै ठोस परिणाम नदेखिएको आरोप लगाएका छन् ।

नेता आचार्यले माओवादीले नेतृत्व गरेका क्षेत्रहरूमा स्वास्थ्य चौकी, खानेपानीको सुविधा, गाउँ-जोड्ने सडक, र आधुनिक पूर्वाधार निर्माणमा कुनै प्रगति नभएको बताए । “जहाँ माओवादीले जित्छ, त्यहाँ विकासको लय बिग्रिन्छ,“ उनले भने । जाजरकोटको धेरैजसो दुर्गम गाउँहरूमा अझै पनि टेलिफोन सम्पर्क, सडक सुविधा, र आधारभूत पूर्वाधार उपलब्ध छैनन् । उदाहरण स्वरूप नलगाड नगरपालिकाका केही गाउँहरूलाई उद्धृत गर्दै भने, “यहाँका बासिन्दाहरू अझै पनि प्राथमिक आवश्यकता पुरा गर्न सङ्घर्ष गरिरहेका छन् । खानेपानीको राम्रो व्यवस्था छैन, स्वास्थ्य उपचारका लागि टाढा जानुपर्ने अवस्था छ, र गाउँलाई मुख्य सडक सञ्जालसँग जोड्ने कुनै प्रयास गरिएको छैन।“

नेता आचार्यले माओवादीलाई गाउँ र देश दुवैको विकासमा असफल भएको दलको रूपमा चित्रण समेत गरेका छन् । “यस पटक माओवादीलाई बिदा गरौँ र नेकपा एमाले रोजौँ । एमाले मात्र त्यो दल हो, जसले गाउँको समस्या समाधान गर्न सक्छ,“ उनले भने । एमालेले गाउँदेखि केन्द्रसम्म समन्वय गरेर विकासका ठोस परियोजना सञ्चालन गर्न प्रतिबद्धता जनाएको छ । “हामीले विकास निर्माणलाई प्राथमिकतामा राखेर काम गरेका छौँ र अब पनि गर्नेछौँ । तपाईँहरूको मतले गाउँको स्वरूप बदल्न सक्छ,“ उनले स्थानीय जनतालाई विश्वास दिलाए ।

निर्वाचन विभाग प्रमुखसमेत रहेका आचार्यले स्थानीय तहका जनतालाई सूर्य चिन्हमा मतदान गर्न विशेष आग्रह गरे । उनले एमाले नेतृत्वमा गाउँको दिगो विकास हुने र गाउँले जनताको जीवनस्तरमा सुधार आउने दाबी गरे । “नेकपा एमाले गाउँको विकास र देश निर्माणको जिम्मा लिन तयार रहेको समेत उनको भनाइ छ । हामीलाई जिताउनुहोस्, हामी तपाईँहरूको अपेक्षालाई पूरा गर्नेछौँ,“ उनले भने । चुनावी सभाका क्रममा स्थानीय जनताले पनि नेता आचार्यसँग आफ्नो गुनासा र अपेक्षाहरू राखेका थिए । जनताले स्वास्थ्य सेवा, शिक्षाको गुणस्तर सुधार, खानेपानी र रोजगारीको अवसर सिर्जना गर्न माग गरेका छन् । आचार्यले ती सबै मागहरूलाई प्राथमिकतामा राखेर काम गर्ने आश्वासन दिएका थिए ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया