
जाजरकोट । भेरी नगरपालिका, जाजरकोटले लागुऔषध दुर्व्यसन रोकथाम तथा नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । आज भेरी नगरपालिका ३, खलंगामा स्थित रिद्धि होटलको सभाहलमा आयोजित कार्यक्रममा नगरपालिकाका कर्मचारी, शिक्षक, पत्रकार, युवा, बालबालिका तथा सुरक्षाकर्मीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्री रहनुभएको थियो । साथै, अन्तर्राष्ट्रिय नार्कोनन अमेरिका दक्षिण पूर्वी एसियाका प्रमुख बसन्त राज कुँवरले विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो।

प्रशिक्षणको क्रममा कुँवरले लागुऔषधको प्रयोगले समाजमा पार्ने नकारात्मक प्रभावबारे विस्तृत जानकारी दिनुभएको थियो। साथै, लागुऔषध नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले अवलम्बन गर्न सक्ने व्यवहारिक रणनीतिहरूबारे सहभागी शिक्षकहरूमार्फत अभ्यासात्मक सत्रसमेत सञ्चालन गरिएको थियो । कुँवरले पालिकाको समन्वित पहलबाट मात्र यस समस्याको प्रभावकारी समाधान खोज्न सकिनेमा जोड दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि खत्रीले लागुऔषध नियन्त्रणका लागि सामूहिक प्रतिबद्धता अपरिहार्य रहेको बताउँदै, जिल्लाकै प्रमुख पालिका भएकाले भेरी नगरपालिकाले प्रभावकारी कदम चालेमा अन्य पालिकाहरूले पनि अनुकरण गर्न सक्ने धारणा व्यक्त गर्नुभयो । साथै, लागुऔषध नियन्त्रणका लागि सबै सरोकारवालाहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तीले भेरी नगरपालिकालाई लागुऔषध दुर्व्यसनमुक्त क्षेत्र बनाउनको लागि यो अभियान सञ्चालन गरिएको कुरा स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “म कुनै वेलाको चेन ड्रिन्कर थिए, तर अहिले १५ वर्ष भयो छाडेको। जब मैले लागुऔषध र पेय पदार्थलाई चटक्कै त्यागें, जीवनको नयाँ र सुनौलो अध्याय सुरु भयो। आत्मअनुशासन, दृढ संकल्प र सकारात्मक सोचले जीवनलाई नयाँ दिशा दिन सक्छ। नशामुक्त जीवन मात्र होइन, स्वस्थ भविष्यको आधार पनि हो।” उहाँले आफ्नो व्यक्तिगत अनुभवबाट सबैलाई सान्तोना दिनुभयो।
उहाँका अनुसार, यो अभियानलाई नगरपालिकाले प्राथमिकताका साथ अघि बढाइरहेको छ। घर्तीले भने, “एकल कार्यक्रमले मात्र लागुऔषध नियन्त्रण सम्भव नहुने भएकाले निरन्तर प्रयास आवश्यक छ।” उहाँले युवा पुस्ता र बालबालिकाहरूलाई यस अभियानका संवाहकका रूपमा लिइएको उल्लेख गर्दै, पछिल्लो समयमा ती समूहहरू लागुऔषध दुर्व्यसनको चपेटामा पर्न थालेकाले सचेतना कार्यक्रम अपरिहार्य भएको बताए। साथै, सबै सरोकारवालाहरूलाई अभियानमा सक्रिय रूपमा सहभागी हुन आग्रह गर्नुभयो।

पालिकाले लागुऔषध रोकथाम तथा नियन्त्रणका लागि अन्य विभिन्न कार्यक्रमहरू पनि अघि सारेको छ । भोलि नगरपालिकाका प्रत्येक वडाका आमा समूहका प्रतिनिधिहरूलाई विशेष प्रशिक्षण प्रदान गरिनेछ । साथै, यसै अभियानअन्तर्गत खेलकुद, योगा तथा विद्यालय स्तरमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने नगर स्वास्थ्य शाखा प्रमुख दीपक वलीले जानकारी गराउनुभयो ।








विनोद कुमार घर्ती (रिदम) । २०८१ चैत्र २१ गते बिहिवार