
जाजरकोट । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकाले सुरु गरेको ‘मानव–पशु अलग घर निर्माण कार्यक्रम’ प्रभावकारी बन्न थालेको छ। आर्थिक वर्ष २०७९/०८० बाट सुरु भएको यस कार्यक्रमबाट हालसम्म दुई सय १९ परिवार लाभान्वित भएका छन् ।
गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीका अनुसार कार्यक्रमले पालिकाभित्र मानव र पशु स्वास्थ्यमा पर्ने नकारात्मक असरलाई न्यूनीकरण गर्न मद्दत गरिरहेको छ। उनका अनुसार कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा कार्यक्रमको लागि १ करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ भने पालिकाले पनि थप ४० लाख रुपैयाँको लगानी गरेको छ।
स्वास्थ्य सुधार र पशुपालनमा प्रोत्साहन
बारेकोट लगायत कर्णालीका अधिकांश स्थानमा परम्परागत रूपमा मानिस र पशु एउटै घरमा बस्ने चलन रहेको छ। यस्तो अभ्यासले मानिस र चौपायाको स्वास्थ्यमा समस्या ल्याउने देखिएपछि अध्यक्ष गिरीको नेतृत्वमा ‘अलग मानव–पशु घर निर्माण’ कार्यक्रम सुरु गरिएको हो। कार्यक्रम सञ्चालनको सुरुवातमा १० भैंसी पालेका किसानलाई प्राथमिकतामा राखिएको थियो भने चालु वर्षमा पाँच भैंसी पालेका किसानलाई पनि समावेश गरिएको छ। आगामी वर्षबाट भने पाँचभन्दा कम भैंसी वा अन्य चौपाया (गाई, बाख्रा) पाल्ने किसानलाई पनि सहभागी गराउने योजना रहेको अध्यक्ष गिरीले जानकारी दिए।
कार्यविधि र स्थानीय स्रोत प्रयोग
कार्यक्रम प्रभावकारी बनाउन कार्यविधि निर्माण गरिएको छ भने स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गरी पशु गोठ निर्माण गरिँदै आएको छ। अध्यक्ष गिरीका अनुसार यो कार्यक्रमले न केवल स्वास्थ्य सुरक्षामा सहयोग पुर्याउँछ, तर स्थानीय किसानलाई पशुपालनमा थप आकर्षित गर्ने लक्ष्य पनि राखिएको छ।
सामाजिक–आर्थिक असर
करीब २५ हजार जनसंख्या भएको बारेकोट गाउँपालिकामा अधिकांश मानिस अझै पशुसँगैको घरमा बस्ने गरेका छन्। आर्थिक अभावका कारण यस्तो अवस्था रहँदा स्वास्थ्यमा विभिन्न समस्या देखिएको भन्दै गाउँपालिकाले यस कार्यक्रमलाई सामाजिक–आर्थिक रूपान्तरणतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको छ।
गाउँपालिका र प्रदेश सरकारको संयुक्त लगानीमा सञ्चालन भएको यस कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने तयारी भइरहेको अध्यक्ष गिरीले बताए ।






द मालिका पोष्ट । २०८२ जेष्ठ २५ गते आइतवार