समाज परिवर्तन गर्ने गम्भीर सोच बोकेका कर्सिङ

राजनीति परिवर्तन ल्याउने औजार हो


आदरणीय मेरा प्रिय साथीहरू, सबैलाई नमस्कार ।
आज म यहाँ, मेरो जीवनको केही अनुभवहरू, मेरो सोच, मेरो संकल्प र आगामी दिनहरूका लागि तय गरेको लक्ष्यबारे केही कुरा राख्न चाहन्छु । म कर्सिङ कठायत, जाजरकोट जिल्लाको शिवालय गाउँपालिका वडा नम्बर ८, लिस्पनी गाउँमा २०६३ सालको असार १९ गते जन्मिएको एक सामान्य किसान परिवारको छोरो हुँ । सायद त्यही सामान्यता र गाउँले परिवेशले मलाई असामान्य सोच र उद्देश्य बोकेको युवामा परिणत गर्‍यो । मेरो शिक्षाको यात्रा प्लस टूसम्म पुगेको छ । त्यो औपचारिक पढाइ सकिएपछि मैले जीवनको वास्तविक पाठहरू सिक्न थालेँ – त्यो पाठशाला हो समाज, जहाँ हामी दिनहुँ पीडा, अभाव, अन्याय, विभेद र असमानता देख्छौं। त्यही समाजको अवस्थाले मेरो सोचमा परिवर्तन ल्यायो। अनि मैले निर्णय गरेँ – केवल आफ्नै लागि होइन, समाज र देशको लागि बाँच्छु, केही गर्छु । हाल म बुटवलमा बसोबास गर्दैछु । यहीँबाट मैले आफूलाई अझै परिष्कृत गरिरहेको छु । आफ्नो क्षमताहरू पहिचान गर्दै जिम्मेवारीको भावना बोकेर अघि बढिरहेको छु । म राजनीतिमा चासो राख्ने युवा हुँ । तर मेरो लागि राजनीति सत्ताको लडाइँ होइन, यो जनताको सेवा गर्ने माध्यम हो । यो परिवर्तन ल्याउने औजार हो । म यस्तो राजनीति गर्न चाहन्छु, जसले गरीबको आवाज बनोस्, अन्यायविरुद्धको प्रतिकार बनोस्, र देशको समृद्धिको बाटो बनोस् । मेरो सपना छ – समाजमा व्याप्त असमानता र विभेदको अन्त्य गर्ने । म चाहन्छु, प्रत्येक नेपालीले सम्मानपूर्वक बाँच्छ, अवसर पाउँछ, र आफ्नो सपना पुरा गर्न सक्छ । त्यसका लागि आवश्यक छ, नेतृत्वको परिवर्तन, सोचको परिवर्तन र हामीजस्ता युवाको सक्रियता ।

आदरणीय प्रिय युवा साथीहरु!
देश बदल्न नेताको मात्र होइन, प्रत्येक सचेत नागरिकको भूमिका चाहिन्छ । अनि म विश्वास गर्छु – म जस्ता युवाहरूको साँचो मन, इमानदार कर्म र निस्वार्थ सोचले देशमा परिवर्तन ल्याउन सक्छ । हामी युवाहरू परिवर्तनका संवाहक हौं। हामीसँग ऊर्जा छ, सोच छ, जोश छ । तर त्यो ऊर्जा केवल सामाजिक सञ्जालमा टिप्पणी गर्न प्रयोग गर्नुले देश बदल्दैन् । हामी सङ्गठित हुनुपर्छ, सचेत हुनुपर्छ, र सकारात्मक काममा लाग्नुपर्छ । आज हामीले सोच्नुपर्छ – हामी कुन नेपाल चाहन्छौं ? र अर्को प्रश्न – त्यस्तो नेपाल बनाउन हामी स्वयं के गर्दैछौं ?
हाम्रो कुनै पनि काम सानो हुँदैन । कुनै पनि कर्म व्यर्थ हुँदैन । हामीले सुरु गरेको सानो प्रयासले अर्को पुस्ताका लागि उज्यालो बाटो तयार गर्न सक्छ ।
अन्त्यमा…
परिवर्तन खोज्ने होइन, स्वयं परिवर्तनको कारक बनौं । देशको सेवामा, जनताको सेवामा, र न्यायपूर्ण समाज निर्माणमा हामीले आफू समर्पित गरौं । हामी सक्षम छौं । हामी परिवर्तन ल्याउन सक्छौं । तर त्यस्को सुरुवात हामी आफैँबाट गर्नुपर्छ ।
जय जनताको शक्ति ! धन्यवाद।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया