जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–७, स्यालामा तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा १२ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
माघ ९ गते राति करिब १०:१० बजे बालिकालाई धारिलो हतियारले घाँटी रेटी हत्या गरिएको थियो। हत्या गरी शव घाँस राख्ने टहरामा लुकाइएको थियो। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट बालकले बालिकालाई करणीको प्रयास गर्दा प्रतिकार भएपछि घाँटी रेटेर हत्या गरेको खुलासा भएको छ।
प्रहरीले माघ १० गते बिहान ५ बजे बालकलाई बारेकोट–६, ताँसीस्थित आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको छ। बालकलाई बाल निगरानी कक्षमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी जाजरकोटका सुचना अधिकारी दिनेश तिमल्सिनाले बताए ।
घटनास्थलबाट हत्या गर्न प्रयोग गरिएको धारिलो हतियार (चक्कु) बरामद गरिएको उनको भनाइ छ ।प्रहरी निरिक्षक तिमिल्सेनाका अनुसार, “घटनाको प्रारम्भिक अनुसन्धान सकिएको छ। अब अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइनेछ।”







द मालिका पोष्ट । २०८१ माघ ११ गते शुक्रवार