भेरी नदीको बीच टापुमा फसेका चार जनाको नेपाली सेनाको हेलिकोप्टरबाट सकुशल उद्धार

 

जाजरकोट। भेरी नगरपालिका-१३ कुदुस्थित भेरी नदीको बीच टापुमा फसेका चार जनाको नेपाली सेनाको हेलिकोप्टरबाट सकुशल उद्धार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार आइतबार दिउँसो करिब ४ः४० बजे भेरी नदीको बहाव बढेपछि नदीको बीच टापुमा चार जना फसेको सूचना प्रहरी चौकी कुदुमा पुगेको थियो। सुरुमा उनीहरू गाई चराउन गएको भनिए पनि उद्धार टोलीले घटनास्थलमा पुगेर बुझ्दा दाउरा निकाल्न भेरी नदीमा गएको खुलेको प्रहरीले जनाएको छ।

फसेका व्यक्तिहरूमा भेरी नगरपालिका–१३ कुदु निवासी ३२ वर्षीय नन्दलाल विक, ४१ वर्षीय खिमबहादुर गिरी, ३४ वर्षीय विशाल सुनार र ३२ वर्षीय धनबहादुर सिंह ठकुरी रहेका थिए।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी कुदुका प्रहरी सहायक निरीक्षक गणेश बटालाको कमाण्डमा ३ जना, प्रमुख जिल्ला अधिकारी नवराज बरालसहित, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीको कमाण्डमा ९ जना, सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वार्टर जाजरकोटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा १० जना र श्री भवानी दल गण जाजरकोटबाट प्रमुख सेनानी गोविन्द थापाको कमाण्डमा १४ जना गरी ३६ जनाको उद्धार टोली परिचालन गरिएको थियो।

उद्धार टोली आवश्यक सामग्रीसहित घटनास्थलतर्फ खटिएको थियो। घटनास्थल प्रहरी चौकी कुदुबाट करिब १ किलोमिटर पूर्व र जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट करिब ११ किलोमिटर दक्षिणमा रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार साँझ ६ः२० बजे डोल्पाबाट नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा पुगेको थियो। हेलिकोप्टरमार्फत चारै जनालाई सकुशल उद्धार गरी घरतर्फ पठाइएको छ। उद्धारपछि नेपाली सेनाको हेलिकोप्टर सुर्खेततर्फ फर्किएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख बुद्धिसागर पुरीले उद्धार कार्य सफल भएको जानकारी दिएका छन्।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया