छेडागाडको खारा र जेवातरा पहिरो प्रभावित, १४ घर जोखिममा

“भूकम्पपछि चिरा परेका घरहरू अझै जोखिममा छन्,”

जाजरकोट ।  जाजरकोटको छेडागाड नगरपालिका–१ खारा र वडा नम्बर–४ जेवातरा क्षेत्रमा पहिरोले क्षति पुर्‍याएको छ।

गत शुत्रबार वेलुका परेको वर्षापछि आएको पहिरोले चार वटा घर, पाँच वटा अस्थायी आवास र दुई वटा मोटरसाइकलमा क्षति पुर्‍याएको हो।

ढाँडापाखाबाट खसेको पहिरोले खारा बजारमा रहेको सब–डिभिजन वन कार्यालयको भवन पनि क्षति पुर्‍याएको छ।

नगरपालिकाका उपमेयर चन्द्रबहादुर थापाका अनुसार पहिरोको जोखिममा परेका १४ वटा घर र एक अस्थायी आवास छन्। उनले पहिरो र क्षतिको अवस्था गम्भीर बन्दै गएको भन्दै सरोकारवाला निकायलाई पूर्वतयारी र दीर्घकालीन समाधानका लागि चाँडै पहल गर्न आग्रह गरेका छन्।

“भूकम्पपछि चिरा परेका घरहरू अझै जोखिममा छन्,” उपमेयर थापाले भने, “मनसुन सुरु हुनुअघि नै यस्तो अवस्था देखिनु चिन्ताको कुरा हो।”

स्थानीय बासिन्दा डरका साथ बसिरहेका छन्। अझै वर्षा भइरहेकाले थप पहिरोको सम्भावना रहेको भन्दै नगरपालिकाले सतर्क रहन अनुरोध गरेको छ। जोखिममा परेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको पनि जानकारी दिइएको छ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया