
जाजरकोट । आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन सुरक्षाका लागि खटिने प्रहरी जनशक्ति छनोट प्रक्रिया अन्तर्गत जाजरकोटमा लिखित परीक्षा सुरु गरिएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोट र सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर जाजरकोटको संयुक्त आयोजनामा त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा लिखित परीक्षा सञ्चालन गरिएको हो। परीक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालतर्फ आवेदन दिएका उम्मेदवारहरूको सहभागिता रहेको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सूधिन कुमार खड्काका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीतर्फ ८८६ जना र सशस्त्र प्रहरी बल नेपालतर्फ ९६ जना गरी कुल ९८२ जना आवश्यक जनशक्ति माग गरिएको छ। “उक्त मागअनुसार प्रहरी छनोट प्रक्रिया पारदर्शी र व्यवस्थित रूपमा अघि बढाइएको छ,” खड्काले बताए।

प्रहरी कार्यालयका अनुसार नेपाल प्रहरीतर्फ १ हजार ४ सय १३ जना र सशस्त्र प्रहरी बल नेपालतर्फ १ सय ७३ जना गरी जम्मा १ हजार ५ सय ८६ जनाले आवेदन दिएका थिए। प्रारम्भिक चरणको शारीरिक तन्दुरुस्ती परीक्षामा १ सय १३ जना फेल भएका छन् भने १ सय २९ जना उम्मेदवार अनुपस्थित रहेको जनाइएको छ। शारीरिक तन्दुरुस्ती परीक्षा उत्तीर्ण गर्ने उम्मेदवारको संख्या १ हजार ३ सय ४४ पुगेको छ।
लिखित परीक्षा सम्पन्न भएपछि बाँकी प्रक्रिया अनुसार अन्तिम छनोट गरी प्रतिनिधिसभा निर्वाचनको सुरक्षामा खटाइने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।







रेशम बहादुर खड्का । २०८२ माघ ९ गते शुक्रवार