
बिनोद कुमार घर्ती ।
जाजरकोट । जाजरकोटका युवाहरुले एक कप चिया अभियान सुरु गरेका छन् । बिहिवार जिल्लाका युवाहरुले एक कप चिया अभियान सुरु गरेका हुन् । “माया र चिया बाडौं, आशा र जीवन साटौं“ भन्ने मुल नाराका साथ परिवर्तनका लागि युवा अभियानको आयोजना कार्यक्रम सञ्चालन गरिएको छ । सञ्चालित ‘एक कप चिया अभियान’ बाट पहिलो दिन ९८ हजार ६ सय १५ रुपैयाँ संकलन भएको छ ।
जिल्लाको बसपार्क, थाप्लेचौ, ठाँटी बजार, र गैरीखाली गरी चार स्थानमा टि स्टल स्थापना गरी आवश्यक सहयोग संकलन गरिएको थियो । अभियानबाट संकलन भएको रकम मृगौला पीडित प्रेमकला शाही केसीको उपचारका लागि प्रदान गरिने अभियानका संयोजक प्रनिल चन्दले जानकारी दिए ।

प्रेमकला शाही केसी जाजरकोट भेरी नगरपालिका–४ की स्थायी बासिन्दा हुन् । दुवै मृगौला फेल भई किष्ट अस्पताल, काठमाडौंमा मृगौला प्रत्यारोपण गर्नुपर्ने अवस्था आएपछि घरको कमजोर आर्थिक अवस्थाले उपचार खर्च जुटाउन विद्यार्थी तथा युवाहरूले यो अभियान चलाएका छन् ।
अभियानको सह–आयोजकका रूपमा शान्ति ज्ञानकुञ्ज आवासीय विद्यालय, ज्ञान ज्योति बाल क्लब र त्रिभुवन माध्यमिक विद्यालय रहेका छन् । अभियानमा जाजरकोटका युवा लोकेन्द्र चन्द, युवा व्यवसायी लोकेन्द्र शाह, विरेन्द्र शाही ठकुरी र साजन साक्यको विशेष योगदान रहेको छ ।

चिया गफ कार्यक्रममा अभियान संयोजक चन्दले प्रेमकला शाही केसीको जीवन बचाउन सबैले सक्दो सहयोग गर्नुपर्ने भन्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन यस्ता अभियानहरू आवश्यक रहेको बताए । उनले भने, “सानो सहयोगले ठूलो प्रभाव पार्न सक्छ । हामीले सँगै जुटेर प्रेमकला दिदीलाई नयाँ जीवन दिन सक्छौं । यो अभियान सहयोग मात्र होइन, समाजमा एकताको सन्देश पनि हो ।”

चन्दले स्थानीय युवाहरू, विद्यार्थी, व्यवसायी, र सामाजिक अभियन्ताहरूको सक्रिय सहभागिताले अभियान सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । उनले थपे, “आज हामीले चियाको एउटा कपबाट जीवनको ठूलो आशा जगाएका छौं । यो अभियानलाई अझ विस्तार गर्दै थप सहयोग जुटाउनेछौं ।” अभियान संयोजक चन्दका अनुसार संकलित रकम सम्बन्धित बिरामीको खातामा जम्मा गरिनेछ । थप सहयोगको लागि फेसबुक र अनलाइन मार्फत सहयोग संकलन अभियाका रुपमा अगाडी बढ्ने भएको छ ।







विनोद कुमार घर्ती (रिदम) । २०८१ फाल्गुन ८ गते बिहिवार