राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल जाजरकोटको अध्यक्षमा थापा


जाजरकोट । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल जिल्ला कार्यसमिति जाजरकोटको अध्यक्षमा भुवन थापा निर्वाचित भएका छन् । गत बुधवार भेरी नगरपालिकाको सभाहलमा भएको चौथो जिल्ला अधिवेशनले भुवन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
निर्वाचन समितिका संयोजक रत्न बहादुर डाँगीका अनुसार नवगठित कार्यसमितिमा केशव खड्का उपाध्यक्ष, मालती बोहरा महिला उपाध्यक्ष, राम प्रसाद जैशी सचिव, डिल बहादुर महतारा सह–सचिव तथा प्रेमकला शाही कोषाध्यक्षका रूपमा चयन भएका छन् ।
समितिको सदस्यहरूमा सुरेन्द्र बहादुर पुन, सपना गिरि, भगवती सुनार, गोपाल शाह, प्रेम बहादुर महतारा, भावना मल्ल, सिमरन बि.क., पुजा वली, कृष्ण राना, कल्पना चन्द, देवीका शाही चन्द, रन्जिता खड्का तथा धन बहादुर शाही लगाएत १९ जनाको कार्यसमित रहेका छन् । नवगठित कार्यसमितिले जिल्लाका स्वास्थ्यकर्मीहरूको हकहित, सेवा सुधार तथा स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । चौथो जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न गर्न योगदान दिने सबैलाई धन्यवाद दिँदै महासंघले स्वास्थ्य क्षेत्रको समग्र सुधारमा योगदान दिने लक्ष्य राखेको छ ।


राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपालका केन्द्रिय सदस्य तथा निर्वाचन मण्डलका अध्यक्ष दिपक वलीले चौथो जिल्ला अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउन सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्दै निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले “स्वास्थ्यकर्मीहरूको हकहित सुनिश्चित गर्न तथा स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन नयाँ नेतृत्वले प्रभावशाली भूमिका खेल्ने विश्वास व्यक्त गरे ।” साथै, “महासंघले जिल्लाका स्वास्थ्यकर्मीहरूको आवाज बुलन्द पार्ने, उनीहरूका अधिकार संरक्षण गर्ने र स्वास्थ्य प्रणालीको सुधारमा योगदान दिने अपेक्षा राखेको बताए ।”


प्रमुख अतिथि तथा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपालका केन्द्रीय उपाध्यक्ष भिमराज सिंहले अधिवेशनलाई सम्बोधन गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले स्वास्थ्यकर्मीहरू देशको स्वास्थ्य प्रणालीको मेरुदण्ड भएको उल्लेख गर्दै, उनीहरूको हक, हित र सेवा सर्त सुधार गर्न महासंघले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । उनले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न एकता, दृढ संकल्प र प्रभावकारी नेतृत्व आवश्यक रहेको भन्दै, नवनिर्वाचित कार्यसमितिले स्वास्थ्यकर्मीहरूको हकहितको संरक्षण गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा योगदान दिने विश्वास व्यक्त गरे । साथै, उनले महासंघको संगठनात्मक सुदृढीकरणका लागि स्थानीयदेखि केन्द्रसम्म सबै तहका नेतृत्वले हातेमालो गर्नुपर्नेमा जोड दिए ।


नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा जाजरकोट जिल्ला इन्चार्ज एवं कार्यक्रमका प्रमुख वक्ताले कार्यक्रममा बोल्दै स्वास्थ्यकर्मीहरू राष्ट्रको आधारशिला भएको उल्लेख गरे । उनले स्वास्थ्यकर्मीहरूको हकहित, सेवा सर्त तथा सुविधामा सुधार गर्न सरकार र सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्नेमा जोड दिँदै, महासंघले स्वास्थ्य क्षेत्र सुधारका लागि प्रभावकारी दबाबमूलक भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे । उनले नवगठित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै, स्वास्थ्यकर्मीहरूको पेशागत सुरक्षाका लागि दलगत राजनीति भन्दा माथि उठेर एकताबद्ध भएर अघि बढ्नुपर्नेमा विशेष जोड दिए। साथै, उनले नेकपा एमाले स्वास्थ्य क्षेत्र सुधारका पक्षमा रहेको बताउँदै स्वास्थ्यकर्मीहरूको हकहित संरक्षण तथा सेवा प्रवाहलाई चुस्त बनाउने विषयमा निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

उक्त कार्यत्रममा नेकपा (एमाले) केन्द्रिय सदस्य एवम् जाजरकोट प्रदेश (ख) इन्चार्ज डम्बर सिंह, नेकपा (एमाले) केन्द्रिय सल्लाहकार लाल बहादुर महतारा, नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी सदस्य खिम बहादुर शाही, नेकपा (एमाले) जाजरकोट अध्यक्ष नरेन्द्र शाही, उपाध्यक्ष विश्व विक्रम शाह, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ कर्णाली प्रदेश अध्यक्ष अम्मर राना, उपाध्यक्ष सन्तोष बुढा, सचिव कृष्ण विष्ठ, कालिकोट अध्यक्ष मिन बहादुर बुढा र सुर्खेत नि वर्तमान अध्यक्ष हस्त राज गिरी लगाएतका अतिथिहरुको उपस्थिति भएको थियो ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया