विपद् व्यवस्थापन समितिको बैठक, निर्धारित समयभन्दा अघिनै हस्ताक्षर सहितको माइन्युट सार्वजनिक

जाजरकोट । जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटले जेठ १४ गतेका लागि निर्धारण गरिएको बैठकको माइन्युट समयभन्दा पहिलै तयार पारेको तथ्य सार्वजनिक भएको छ।

बैठक बिहान १० बजेका लागि बोलाइएको थियो भने माइन्युटमा दिउँसो २ बजे बैठक बसेको उल्लेख छ। तर प्राप्त विवरणअनुसार, दिउँसो १२ बजेर ११ मिनेटमै माइन्युटमा हस्ताक्षर गराई सार्वजनिक गरिएको छ।

“२ बजे बैठक भनेर माइन्युटमा लेखिएको छ, तर १२ बजे नै त्यसमा हस्ताक्षर भएको देखिन्छ। यसले बैठक औपचारिकतामात्र बनेको हो कि भन्ने प्रश्न उठेको छ,” एक सहभागीले नाम नबताउने सर्तमा बताए।

बैठक आर. आर. होटेलमा आयोजना गरिएको थियो। सोही दिन पिपुल इन निड लगायतका संस्थासँगको साझेदारीमा ‘आपतकालीन कार्यसञ्चालन केन्द्रका लागि क्षमता विकास कार्यशाला गोष्ठी’ समेत तय गरिएको थियो।

तर, समयभन्दा अघिनै निर्णय लेखिएको माइन्युटमा हस्ताक्षर गरिनु र त्यसलाई आधिकारिक रूपमा सार्वजनिक गरिनुले जिल्ला प्रशासनकै कार्यशैलीप्रति प्रश्न उठाएको छ।

स्थानीय सञ्चारमाध्यम पाइला न्यूज अनलाइनले उक्त माइन्युटको तस्बिरसमेत सार्वजनिक गरेको छ, जसले विवाद थप चुल्याएको छ। सामाजिक सञ्जालमा समेत अब यस्तो संवेदनशील विषयमा प्रशासनले देखाएको लापरवाहीप्रति आलोचना भइरहेको छ। “सूचना दिँदा १० बजे बैठक भनियो, सहभागीहरू १२:११ मा पुगे, अनि २ बजेकाे बैठकको माइन्युटमा हस्ताक्षर भयो — यसले प्रशासनको कामप्रति गम्भीरता छैन भन्ने देखाउँछ,” एक स्थानीय अगुवाको भनाइ छ।

जे होस्, जाजरकोटमा विभिन्न नयाँ कार्यहरू सुरु भइरहेका बेला विपद् व्यवस्थापनजस्तो संवेदनशील संयन्त्रमै यस्तो लापरवाही देखिनु चिन्ताजनक विषय भएको विश्लेषण गरिएको छ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया