
जाजरकोट । भेरी नगरपालिकाको आयोजनामा स्थानीय स्तरमा गठित लागुऔषध नियन्त्रण सम्बन्धी दबाब समूहलाई लक्षित गरी अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
शुत्रबार सदरमुकाम खलंगा स्थित रिद्धि होटलको सभाहलमा समुदायमा लागुऔषध दुर्व्यसन नियन्त्रण तथा रोकथामका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय अगुवा महिला, शिक्षिका,बालवालिका, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख प्रशिक्षक अन्तर्राष्ट्रिय नार्कोनन अमेरिका दक्षिण पूर्वी एसियाका प्रमुख बसन्त राज कुँवरले लागुऔषध दुर्व्यसनको मनोवैज्ञानिक, सामाजिक र शारीरिक असरबारे विस्तृत प्रशिक्षण प्रदान गरे। उनले लागुऔषधको लत कसरी सुरु हुन्छ, यसबाट मुक्त हुन के गर्नुपर्छ र समुदायस्तरमा सचेतना फैलाउन कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भन्ने विषयमा गहन जानकारी दिए। कुँवरले भने, अघाउनका लागि खाइने सबै चिजहरु खाना भएको बताउदै प्रशिक्षक कुँवरले लठ्याउने सबै चिजहरु ड्रक्स भएको बताए । कुनैपनि लागु औषधले थोरै खाए उत्तेजित बनाउने, अलि बढि खाए निधाउने, त्यो भन्दा बढि खाए बेहोस बनाउने र अझ बढि खाए मृत्यु गराउने प्रशिक्षक कुँवरले बताए । मन लट्ठिएपछि अनुभुति नहुने, अनुभुति नभएपछि दया माया नहुने बताउदै प्रशिक्षक कुँवरले माया दया नभएपछि हिंसा हुने भनाइ राखेका थिए ।“लागुऔषध दुर्व्यसन केवल व्यक्तिगत समस्या होइन, यो सामाजिक समस्या हो । यसलाई रोकथाम गर्न समुदायकै सक्रिय सहभागिता आवश्यक छ ।”

कार्यक्रमको अध्यक्षता गरेका भेरी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष तथा नगरपालकाका सुसासन तथा संस्थागत समितिका संयोजक हिरा प्रसाद शर्माले लागुऔषध दुर्व्यसन रोकथामका लागि दबाब समूहहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । उनले भने, हामीले स्थानीय स्तरमै लागुऔषध नियन्त्रण अभियानलाई प्राथमिकता दिनुपर्छ। यस्ता कार्यक्रमले समुदायलाई जागरूक बनाउन र समस्या समाधानमा प्रभावकारी पहल गर्न मद्दत गर्छ ।“ उनले नगरपालिका स्तरबाट पनि यस अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

लागुऔषध नियन्त्रण अभियानका संयोजक दिपक वलीले नगरपालिकाको पहलमा भइरहेको सचेतना कार्यक्रमको प्रभावकारिताबारे प्रकाश पार्दै भने, “हामीले लागुऔषध रोकथामका लागि समुदायमै आधारित कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ । केवल प्रहरी प्रशासनले मात्र नभई समाजका हरेक सदस्यले यो अभियानलाई आफ्नो दायित्वका रूपमा लिनुपर्छ ।” उनले लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि प्रत्येक वडामा दवाव समुह गठन गर्ने र उक्त समूहमा २५ जनाको समूह वनाएर प्रत्येक घरमा निगरानी गरेर दुर्व्यसनिमा परेकालाई पहिचान गरेर सम्बन्धीत निकायमा लैजाने व्यवस्थापन नगरपालिकाले लिनेछ संयोजक वलीले जानकारी दिएका थिए ।
सहभागीहरूले प्रशिक्षण कार्यक्रम अत्यन्त उपयोगी भएको बताउँदै, आफ्ना समुदायमा लागुऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। आयोजकहरूको अनुसार, यस्ता कार्यक्रमले स्थानीय तहमा लागुऔषध नियन्त्रणमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।







विनोद कुमार घर्ती (रिदम) । २०८१ चैत्र २३ गते शनिवार