नेपाल प्रहरी जवानमा सफल प्रशिक्षार्थीलाई भिजन ट्रेनिङ सेन्टरको सम्मान

संस्थाका प्रबन्ध निर्देशक सोनु रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी वरिष्ठ नायब निरीक्षक आशिष गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा प्रकाश सिंह भण्डारी, गणेशबहादुर थापा मगर, मुख्य व्यवस्थापक यमराज खड्का, सफल प्रशिक्षार्थी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

जाजरकोट । नेपाल प्रहरी जवान (जनपद) पदको अन्तिम नतिजामा सफल भएका प्रशिक्षार्थीहरूलाई नेपालगञ्जस्थित यस भिजन ट्रेनिङ सेन्टर एण्ड कन्सल्टेन्सी प्रा.लि. ले सम्मान गरेको छ। शनिबार मौरी रेस्टुरेन्टमा आयोजित कार्यक्रममा सफल प्रशिक्षार्थीसँगै उनीहरूको सफलतामा योगदान पुर्‍याउने प्रशिक्षकहरूलाई पनि सम्मानपत्र प्रदान गरिएको हो।

संस्थाका प्रबन्ध निर्देशक सोनु रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी वरिष्ठ नायब निरीक्षक आशिष गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा प्रकाश सिंह भण्डारी, गणेशबहादुर थापा मगर, मुख्य व्यवस्थापक यमराज खड्का, सफल प्रशिक्षार्थी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाल प्रहरी जवान पदमा नाम निकाल्न सफल प्रशिक्षार्थीहरूलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरिएको थियो। साथै प्रशिक्षण अवधिभर योगदान पुर्‍याएका प्रशिक्षकहरूलाई पनि सम्मानपत्रसहित सम्मान गरिएको थियो।

सफल प्रशिक्षार्थीहरूले आफ्नो उपलब्धिको श्रेय परिवारको साथ, व्यक्तिगत मेहनत र भिजन ट्रेनिङ सेन्टरले उपलब्ध गराएको व्यवस्थित तथा गुणस्तरीय प्रशिक्षणलाई दिएका थिए। उनीहरूले नियमित शारीरिक अभ्यास, लिखित तथा मौखिक परीक्षाको तयारी, मनोवैज्ञानिक परामर्श र अनुभवी प्रशिक्षकको मार्गदर्शनले प्रतिस्पर्धात्मक परीक्षामा सफलता हासिल गर्न सहयोग पुगेको बताए।

प्रमुख अतिथि प्रहरी वरिष्ठ नायब निरीक्षक आशिष गुरुङले नेपाल प्रहरीमा प्रवेश गर्नु अवसरसँगै ठूलो जिम्मेवारी पनि भएको उल्लेख गर्दै अनुशासन, इमानदारी, सेवाभाव र व्यावसायिक दक्षताका साथ नागरिकको विश्वास जित्ने गरी काम गर्न सफल प्रशिक्षार्थीहरूलाई आग्रह गर्नुभयो। उहाँले दक्ष जनशक्ति उत्पादनमा भिजन ट्रेनिङ सेन्टरले पुर्‍याएको योगदानको समेत प्रशंसा गर्नुभयो।

कार्यक्रमका अध्यक्ष सोनु रानाले संस्थाले स्थापना कालदेखि नै गुणस्तरीय प्रशिक्षण, अनुशासित अभ्यास र उत्कृष्ट नतिजालाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो। आगामी दिनमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागलगायत सुरक्षा निकायमा प्रवेश गर्न चाहने युवाहरूका लागि अझ प्रभावकारी र आधुनिक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ थियो।

यस वर्ष प्राप्त सफलता प्रशिक्षार्थी, प्रशिक्षक, अभिभावक र संस्थाको सामूहिक मेहनतको प्रतिफल भएको उल्लेख गर्दै रानाले आगामी दिनमा अझ धेरै युवालाई सरकारी सेवामा प्रवेश गराउने लक्ष्यका साथ संस्था अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सम्मानपत्र वितरण, मायाको चिनो हस्तान्तरण, शुभकामना आदान–प्रदान तथा सामूहिक तस्बिरसहित सम्पन्न कार्यक्रममा सहभागीहरूले यस्ता सम्मान कार्यक्रमले सफल प्रशिक्षार्थीलाई थप उत्साहित गर्नुका साथै अन्य युवालाई पनि राष्ट्रसेवातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए।

सुरक्षा निकायका विभिन्न प्रतिस्पर्धात्मक परीक्षाका लागि प्रशिक्षण प्रदान गर्दै आएको यस भिजन ट्रेनिङ सेन्टरले यस वर्ष पनि नेपाल प्रहरी जवान पदको अन्तिम नतिजामा उल्लेखनीय सफलता हासिल गरेपछि सफल प्रशिक्षार्थी र प्रशिक्षकहरूको सम्मान गर्दै उनीहरूको योगदानको कदर गरेको जनाएको छ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया