स्थानीय तह उपनिर्वाचन : जाजरकोटमा शान्तिपूर्ण रुपमा मतदान जारी 

जाजरकोट । जाजरकोटकाे नलगाड नगरपालिका उपप्रमुख र कुशे गाउँपालिका ७ काे वडा अध्यक्ष पदका लागि मतदान सुरु भएको छ ।   उपनिर्वाचनअन्तर्गत आज बिहानदेखि मतदान सुरु भएको छ । सो क्षेत्र अन्तर्गतका १८ ओटा मतदान  केन्द्र छन् ।
मुख्य  निर्वाचन अधिकृत श्यामला घिमिरेका अनुसार मतदान गर्न मतदाता सबेरैदेखि लामबद्ध छन् । शान्तिपूर्णरूपमा मतदान सुरु भएको उहाँले जानकारी दिनुए । मतदान साँझ ५ बजेसम्म रहनेछ । निर्वाचनका लागि सुरक्षा प्रबन्ध सदृढ बनाइएकाले ढुक्कसँग मतदानमा सहभागी हुन प्रमुख निर्वाचन अधिकृत घिमिरेले आग्रह गरे ।
उपनिर्वाचनमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार सुनिता बाेहराले सुर्याेदय मावि नलगाड-३ कैनामा मतदान गरेकि छन् ।
नेकपा (माओवादी  केन्द्र ) को तर्फबाट उप- प्रमुख पदका उम्मेदवार देबका लामीछानेले नलगाड ५ जुनि मा. वि. सिर्के मतदान केन्द्र बाट  मतदान गरेकि छन् ।
नेपाली कांग्रेसका तर्फबाट उपप्रमुख  पदको उम्मेदवार इन्द्रा चन्द सिंहले नलगाड नगरपालिका–८ स्थित  गणेश प्रावि मालुवा मतदान केन्द्रमा मतदान गर्ने कार्यक्रम रहेको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार पार्वती पुनले  नलगाड १ अनापानी मतदान गर्ने छन् ।

मतदान सकिएपछि राजनीतिक दलका प्रतिनिधिको रोहवरमा मुचुल्का गरेर मतपेटिका नलगाड नगरपालिका दल्ली ल्याइनेछ । कुशे गाउँपालिका केन्द्रमा मतगणना गरिने छ ।
जिल्लामा नलगडमा २४ मतदान केन्द्र र कुशेमा २ मतदान केन्द्र रहेका छन् ।  नलगाड नगरपालिका भित्र १६ हजार ४ सय ४८ मतदाताले मतदान गर्ने छन् । यता कुशे ७ मा १ हजार २ सय ३ मतदाता रहेका छन् ।

नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहकाे भूकम्पका कारण निधन भए पछि  रिक्त रहेको ठाउँमा उपनिर्वाचन गरिएको हो ।
उपनिर्वाचनको संवेदनशीलतालाई ध्यानमा राखेर भेरी करिडोर  नलगाड नगरपालिका खण्ड तथा स्थानीय सडकहरुमा सवारीसाधन पूर्णरूपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटले बिहान ५ देखि साँझ ६ बजेसम्म सबै सडकमा यातायात सञ्चालनमा रोक लगाएको हो ।
एम्बुलेन्स,  दूध बोक्ने सवारीसाधन, शववाहन, फोहरमैला ओसार्ने सवारीसाधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको पत्रसहित चलेको सवारीसाधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेसपास भएका पत्रकार चढेको सवारी भने निर्वाध सञ्चालन हुने जिल्ला प्रशासन जाजरकोटले जनाएको छ ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया