साउदीमा रहेका नेपालीले उठाए मानवीय उदाहरण, स्वर्गीय नवराज शाहीको परिवारलाई रु. ३ लाख २९ हजार सहयोग हस्तान्तरण

यति मात्रै होइन, स्वर्गीय शाहीका ८ वर्षीय जेठा छोरा मानबहादुर शाही केही महिनायता क्यान्सरजस्तो गम्भीर रोगसँग संघर्ष गरिरहेका छन्। उपचारका लागि ठूलो आर्थिक स्रोत आवश्यक भए पनि परिवारले अभावका कारण नियमित उपचार गराउन नसकेको जनाएको छ।

जाजरकोट। वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा रहँदा असामयिक निधन भएका जाजरकोटको भेरी नगरपालिका–५, इवरका ३२ वर्षीय नवराज शाहीको परिवारलाई साउदी अरबमा रहेका नेपालीहरूले संकलन गरेको रु. ३ लाख २९ हजार ३४६ सहयोग रकम हस्तान्तरण गरिएको छ।

संकलित रकम नेपाल पत्रकार महासंघ जाजरकोटका उपाध्यक्ष विनोद कुमार घर्तीले स्वर्गीय शाहीकी श्रीमती चम्फा रावत शाही र उहाँका बुवा टेकबहादुर शाहीलाई हस्तान्तरण गरेका हुन्। रकम हस्तान्तरणका क्रममा भेरी नगरपालिका उपप्रमुख शीता जैसी, वडा नं. ५ का वडा सदस्य सन्तोष रोकाय, वडा नं. ४ का पूर्व वडा सदस्य भद्रबहादुर शाही तथा निर्मला रावत शाहीको उपस्थिति रहेको थियो।

नवराज शाही रोजगारीका लागि साउदी अरब पुगेका थिए। त्यही क्रममा बिरामी परेका उनको वि.सं. २०८२ साल जेठ १५ गते निधन भएको थियो। निधनपछि शव नेपाल ल्याउनुपर्ने कठिन प्रक्रियादेखि आवश्यक समन्वयसम्म साउदीमै रहेका नेपाली साथीहरूले अग्रसरता लिएका थिए।

विशेषगरी विरेन्द्री सिंह ठगुन्ना (क्याम्पबोस) र चन्द्रबहादुर खड्कासहित १५ जना नेपाली युवाले शव नेपाल पठाउने प्रक्रिया पूरा गर्नुका साथै शाही परिवारको आर्थिक अवस्था कमजोर रहेको जानकारी पाएपछि सहयोग अभियानसमेत सञ्चालन गरेका थिए।

अभियानमार्फत करिब ४०० जना नेपालीबाट संकलित रु. ३ लाख २९ हजार ३४६ रकम शाही परिवारलाई हस्तान्तरण गरिएको हो। तर, सहयोग रकमले परिवारको सबै समस्या समाधान भने गरेको छैन। परिवारका मुख्य आम्दानीकर्ता नवराज शाहीको निधनसँगै घरको आर्थिक आधार कमजोर बनेको छ। वैदेशिक रोजगारीका लागि लिएको करिब १४ लाख रुपैयाँ ऋण, घर निर्माणमा लागेको खर्च र दैनिक जीवनयापनको जिम्मेवारीले परिवारलाई थप समस्यामा पारेको छ।

यति मात्रै होइन, स्वर्गीय शाहीका ८ वर्षीय जेठा छोरा मानबहादुर शाही केही महिनायता क्यान्सरजस्तो गम्भीर रोगसँग संघर्ष गरिरहेका छन्। उपचारका लागि ठूलो आर्थिक स्रोत आवश्यक भए पनि परिवारले अभावका कारण नियमित उपचार गराउन नसकेको जनाएको छ।

श्रीमती चम्फा रावत शाही अहिले एकातिर श्रीमान गुमाएको पीडा र अर्कोतिर छोराको उपचार तथा ऋण व्यवस्थापनको दोहोरो संघर्षमा रहेकी छन्। परिवारले उपचारका लागि सबै सहयोगी मन, संघसंस्था तथा शुभेच्छुकसँग सहयोगको अपिल गरेको छ।

यस मानवीय अभियानलाई सफल बनाउन चन्द्रबहादुर खड्का, मोतीराम विश्वकर्मा, कर्णबहादुर खड्का, टेकबहादुर बुढा मगर, अर्जुन परियार, विश्व कार्की, शिवु कुँवर, धनबहादुर खत्री, नबिन्द्र सुनार, सन्देश बुढाथोकी, टार्जन वली, विनोद सुनार, प्रशान्त तामाङ, कुसुम राजवंशी र विकास बी.क. लगायतका साथीहरूले सक्रिय भूमिका खेलेका थिए।

सहयोग अभियानमा आर्थिक योगदान गर्ने करिब ४०० जना नेपाली दाताहरूप्रति शाही परिवारले हार्दिक आभार व्यक्त गरेको छ। विदेशमा रहेका नेपालीहरूले दुःखको घडीमा देखाएको एकता, सद्भाव र सहयोगले नेपाली समुदायबीचको मानवीय सम्बन्ध अझ बलियो रहेको सन्देश दिएको परिवारको भनाइ छ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया