जाजरकोट । पाँचतारा युवा संरक्षण मञ्च, जाजरकोट र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा भेरी नगरपालिका–२ रिसाङ र वडा नं. ३ स्यालाका ३० घरधुरीलाई करिब ५ लाख ३४ हजार रुपैयाँ बराबरको राहत तथा अस्थायी आवास सामग्री वितरण गरिएको छ।
भेरी नगरपालिका–२ रिसाङका १५ र वडा नं. ३ स्यालाका १५ गरी जम्मा ३० घरधुरीलाई त्रिपाल, भाँडाकुँडा, सरसफाइका सामग्री, ब्ल्याङ्केटलगायत अस्थायी बसोबासका लागि आवश्यक सामग्री वितरण गरिएको हो।
वर्षाका कारण घर तथा बस्ती जोखिममा परेका परिवारलाई तत्काल अस्थायी आवास व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले राहत सामग्री वितरण गरिएको पाँचतारा युवा संरक्षण मञ्चका अध्यक्ष छवि पन्तले बताउनुभयो।

गत साउन ३० गतेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका–१, २, ३ र ४ लगायतका क्षेत्रमा बाढी तथा पहिरोले क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार विपद्का कारण चार जनाको मृत्यु, २५ घरधुरीका मानिस घाइते तथा करिब तीन सय घरधुरी प्रभावित भएका छन्।
प्रभावित बस्तीमा खाद्यान्न, सुरक्षित बासस्थान, खानेपानी तथा औषधि उपचारलगायत दैनिक अत्यावश्यक सामग्रीको समस्या देखिएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम जारी रहेको छ।








द मालिका पोष्ट । २०८३ साउन ३१ गते आइतवार