छैठौं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी शिवशंकर मावि जगतिपुरलाई

लगातार तिन पटक विजेता हासिल गरेकोले उक्त शिल्ड सधैका लागि शविशंकर मावि जगतिपुरले पच गरेको छ ।


विनोद कुमार घर्ती
जाजरकोट । भेरी नगरपालिकाको आयोजनामा सम्पन्न अन्तरविद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड तथा छैठौं मेयर कप प्रतियोगिताको उपाधि शिवशंकर मावि जगतिपुरले हात पारेको छ ।
त्रिभुवन मावि खलंगामा गत आइतबारदेखि लगातार ५ दिन सञ्चालन भएको प्रतियोगितामा शिवशंकर माविले १५ स्वर्ण, ६ रजत र २ कांस्य गरी कुल २३ पदक प्राप्त गर्दै उपाधि जितेको हो। प्रतियोगितामा ११ विद्यालयले सहभागिता जनाएका थिए, जसमा छात्र तथा छात्रा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आट्र्स विधाका ९२ वटा पदकका लागि विद्यार्थी खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।


यसै क्रममा, भगवती मावि कुदुले ७ स्वर्ण, ७ रजत र ५ कांस्य गरी कुल १९ पदक प्राप्त गर्दै दोस्रो स्थान हासिल गर्‍यो भने ३ स्वर्ण, ३ रजत, र ६ कांस्य पदक सहित तेस्रो स्थान त्रिभुवन माध्यमिक विद्यालयले गरेको छ । प्रतियोगिताका विजेता, उपविजेता, र तृतीय स्थान प्राप्त विद्यालयलाई क्रमशः रु. ५० हजार, ४० हजार, र ३० हजार नगद पुरस्कारका साथै शिल्ड, मेडल, र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।
त्यस्तै, प्रतियोगितामा सहभागी ११ विद्यालयलाई यातायात खर्चबापत प्रति विद्यालय रु. १५ हजारका दरले कुल रु. १,६५,००० नगरपालिकाले व्यवस्थापन गरेको थियो । मञ्च व्यवस्थापन तथा स्वयंसेवक परिचालनका लागि त्रिभुवन माध्यमिक विद्यालयलाई रु.४० हजार प्रदान गरिएको भेरी नगरपालिका शिक्षा शाखा प्रमुख अमृत पुनले जानकारी दिए ।


प्रतियोगिताको समापन समारोहमा राष्ट्रिय सभाका पूर्व सदस्य तथा नेकपा (एमाले) पोलिटब्युरो सदस्य भैरव सुन्दर श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । उनले खेलकुदले शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण योगदान गर्ने उल्लेख गर्दै स्वस्थ समाज निर्माणका लागि खेलकुदलाई अनिवार्य मान्नुपर्ने बताए । “आज यहाँ सहभागी भएका सम्पूर्ण खेलाडीहरू नै वास्तविक विजेता हुन्,“ श्रेष्ठले भने, “जित–हारभन्दा पनि सहभागिता नै ठूलो कुरा हो ।“ उनले भेरी नगरपालिकाले विद्यार्थीहरूको खेल प्रतिभा उजागर गर्न यस्ता प्रतियोगिताहरू निरन्तर आयोजना गर्नुपर्नेमा जोड दिएका थिए । साथै, विभिन्न विधामा प्रथम, द्वितीय, र तृतीय स्थान प्राप्त खेलाडीहरूलाई बधाई तथा उज्जवल भविष्यको कामना गर्दै आफ्नो भनाइ समाप्त गरेका थिए ।


समापन समारोहका सभाध्यक्ष तथा भेरी नगरपालिकाका नगर प्रमुख चन्द प्रकाश घर्तिले विद्यार्थीहरूलाई खेलकुदको महत्वबारे सम्बोधन गर्दै भन्नुभयो, “खेलकुद केवल प्रतिस्पर्धा मात्र होइन, यसले अनुशासन, सहकार्य, र दृढ संकल्प सिकाउँछ । तपाईंहरू भविष्यका सम्भावित खेलाडीहरू हुनुहुन्छ, जसले देशलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न सक्नुहुन्छ । भेरी नगरपालिकाले सधैं तपाईंहरूको साथ दिनेछ र यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिनेछ उहाले भन्नुभयो ।” खेल अवधी भरी महत्वपुर्ण सहयोग गरेर प्रतियोगितालाइ सफल पार्न सहयोग गर्ने सम्पुर्ण रेफ्री टिम, त्रिभुवन विद्यालय परिवार, स्काउटको टिम र भेरी नगरपालिकाका सम्पुर्ण कर्मचारीहरुलाई धन्यवाद, सहभागी विद्यालय र विद्यार्थीहरूलाई बधाई दिँदै आगामी दिनहरूमा अझ उत्साहका साथ अगाडि बढ्न प्रेरित गर्दै कार्यक्रमलाई हर्षका साथ समापन गर्नुभएको थियो ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया