जाजरकोटमा ‘रुरल कम्युनिटी क्याम्प २०८३’ सञ्चालन हुदै

जाजरकोट । ग्रीनफिल्ड नेशनल कलेज, काठमाडौंको सामाजिक कार्य विभागले जाजरकोट जिल्लाको नलगाड क्षेत्रमा “रुरल कम्युनिटी क्याम्प २०८३” सञ्चालन गर्ने भएको छ। कलेजले मिडिया कभरेज तथा सहयोगका लागि सञ्चार माध्यमलाई अनुरोध गर्दै जानकारी सार्वजनिक गरेको हो।
उक्त कार्यक्रम २०८३ साल जेठ १५ गतेदेखि २० गतेसम्म सञ्चालन हुने जनाइएको छ। कार्यक्रममा सामाजिक कार्य अध्ययनरत विद्यार्थी, प्राध्यापक, स्वास्थ्यकर्मी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहनेछ।
क्याम्पमार्फत विद्यार्थीलाई व्यवहारिक तथा फिल्डमा आधारित सिकाइ अनुभव प्रदान गर्नुका साथै स्थानीय समुदायको स्वास्थ्य, सरसफाइ तथा जनचेतनामा सहयोग पुर्‍याउने उद्देश्य रहेको आयोजकले जनाएको छ।


कार्यक्रम अन्तर्गत स्वास्थ्य परीक्षण तथा जनचेतना कार्यक्रम, मानसिक स्वास्थ्य तथा सरसफाइ सम्बन्धी सचेतना, PRA तथा FGD छलफल, सरसफाइ सामग्री तथा शैक्षिक सामग्री वितरण, समुदाय परिचालन तथा तथ्यांक संकलन लगायतका गतिविधि सञ्चालन गरिने बताइएको छ।
कार्यक्रमको समन्वय नेकपा एमाले केन्द्रीय कमिटी सदस्य डम्बर बहादुर सिंहले गर्नु भएको जनाइएको छ भने कार्यक्रमको व्यवस्थापन जानकी दर्शन टुर एण्ड ट्राभलले गरेको बताइएको छ।
ग्रीनफिल्ड नेशनल कलेजको सामाजिक कार्य विभाग प्रमुख सञ्जिता थापा मगरले कार्यक्रमलाई प्रभावकारी बनाउन सञ्चार माध्यमको सहयोग आवश्यक रहेको बताएकी छन्। कार्यक्रमले स्थानीय समुदायमा जनचेतना अभिवृद्धि गर्नुका साथै समुदायको सहभागिता बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया