पाँचतारा र वन हर्ट वर्ल्डवाइडद्धारा रिसाङका बाढीपहिरो पीडितलाई २ लाख ५० हजारको राहत

जाजरकोट । भेरी नगरपालिका २ रिसाङ्गका बाढीपहिरो प्रभावित गर्भवती तथा सुत्केरी महिलासहित घर पूर्ण रूपमा क्षति भएका नागरिकलाई करिब २ लाख ५० हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको छ।

वन हर्ट वर्ल्डवाइडसँगको साझेदारीमा पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले बाढीपहिरो प्रभावित २६ जना गर्भवती तथा सुत्केरी महिलालाई त्रिपाल, ब्ल्याङ्केट, चामल, दाल, तेल, बाल्टिन, जगलगायतका राहत सामग्री हस्तान्तरण गरेको हो।

भेरी नगरपालिका जाजरकोटका नगरप्रमुख चन्द्रप्रकाश घर्तीको उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरिएको पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष छवि पन्तले जानकारी दिए।

त्यस्तै, आईपीएस संघको साझेदारीमा मञ्चले बाढीपहिरोका कारण घर पूर्ण रूपमा नष्ट भएका ६५ जनालाई लगाउने कपडासमेत वितरण गरेको छ। दुवै साझेदारीमा गरी कुल २ लाख ५० हजार रुपैयाँ बराबरको राहत सामग्री तथा कपडा वितरण गरिएको अध्यक्ष पन्तले बताए।

बाढीपहिरोबाट प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्ने उद्देश्यले राहत सामग्री वितरण गरिएको उनको भनाइ छ।

गत श्रावण ३० गते परेको अविरल वर्षाका कारण रिसाङका विभिन्न गाउँमा गएको पहिरोमा परी चार जनाको मृत्यु भएको थियो। पहिरोमा परी गम्भीर घाइते भएका ११ जनाको नेपालगन्ज तथा काठमाडौंमा उपचार भइरहेको छ।

पहिरोका कारण चौपाया, बालीनाली तथा घर–जग्गामा समेत व्यापक क्षति पुगेको छ। ठाउँ–ठाउँमा जमिन भासिने र निरन्तर पहिरो जाने क्रम नरोकिएपछि स्थानीयवासीको जनजीवन थप जोखिमपूर्ण बनेको छ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया