महिलालाई ड’र-त्रा’स देखाई ५० हजार रुपैयाँ अ’सुल्ने प्रयास गर्ने एक जना प’क्राउ

जाजरकोट, असार १८ ।  जाजरकोटमा एक महिलालाई सामाजिक तथा मानसिक रूपमा आतंकित बनाउँदै आर्थिक लाभ लिन खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा छेडागाड नगरपालिका–१२ निवासी अमर परियार रहेका छन्। उनले २०८३ साल असार १३ गते छेडागाड नगरपालिका–१२ निवासी राजकुमारी शाहीको हराएको मोबाइल फोन फेला पारेर उक्त मोबाइलको लक कोड तोडी त्यसमा रहेका व्यक्तिगत विवरण, तस्बिर तथा अन्य सामग्रीको दुरुपयोग गरेका थिए।

प्रहरीका अनुसार आरोपितले मोबाइलमा रहेका सामग्री प्रयोग गरी पीडित तथा उनका परिवारलाई अश्लील, अपमानजनक तथा चरित्रहत्या हुने प्रकृतिका विभिन्न सन्देश पठाउने, निरन्तर गालीगलौज गर्ने, डर-धम्की दिने तथा अन्ततः ५० हजार रुपैयाँ माग गर्दै मानसिक तनाव र हैरानी दिएको भन्ने उजुरी परेको थियो।

उक्त उजुरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले असार १८ गते बिहान करिब ५ बजे छेडागाड नगरपालिका-१२ स्थित आफ्नै घरबाट अमर परियारलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका परियारविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत जाजरकोटबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी बुद्धिसागर पुरीले डिजिटल माध्यमको दुरुपयोग गरी कसैलाई डर-त्रास देखाउने, चरित्रहत्या गर्ने वा आर्थिक लाभ लिन खोज्ने कार्य कानुनविपरीत भएकाले यस्ता गतिविधिमा संलग्न नहुन सबैमा आग्रह गर्नुभएको छ।

उक्त प्रेस विज्ञप्ति जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुधिर कुमार खड्काले जारी गर्नुभएको हो।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया