
जाजरकोट, असार २२ । एम्नेस्टी इन्टरनेशनल नेपाल जाजरकोट ग्रुप–७७ को सातौँ साधारणसभा तथा चौथो जिल्ला अधिवेशनबाट सञ्चारकर्मी बालकुमार शर्मा संयोजक तथा मुकुन्दप्रसाद शर्मा सचिवमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै जिल्लामा मानव अधिकारको संरक्षण, प्रवर्द्धन तथा नागरिक सचेतना अभिवृद्धिका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्रीको प्रमुख आतिथ्यता तथा जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार सोनी र एम्नेस्टी इन्टरनेशनल नेपालका केन्द्रीय प्रतिनिधि देवेन्द्र सेजुवालको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा मानव अधिकारका समसामयिक चुनौती, अवसर तथा स्थानीय तहमा अधिकारमुखी समाज निर्माणका विषयमा छलफल भएको थियो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक बुद्धिसागर पुरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, नेपाली सेनाको मालिका ब्यारेक, नेपाल रेडक्रस सोसाइटी जाजरकोटका सभापति हरिबहादुर बस्नेत, निर्माण व्यवसायी शान्तबहादुर बस्नेत, शिक्षिका आशा कार्कीलगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

केन्द्रीय प्रतिनिधि देवेन्द्र सेजुवालले जाजरकोटमा मानव अधिकारका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै विशेषगरी भूकम्प प्रभावितहरूको अधिकार, सोती घटनापछिको न्यायिक प्रक्रिया, गरिब तथा विपन्न समुदायका अधिकार तथा सामाजिक न्यायका विषयमा निरन्तर पैरवी गर्नुपर्ने आवश्यकता औँल्याए।
प्रमुख अतिथि कालीबहादुर खत्रीले मानव अधिकारको संरक्षण लोकतान्त्रिक समाजको आधार भएको उल्लेख गर्दै स्थानीय सरकार, नागरिक समाज र मानव अधिकारकर्मीबीचको सहकार्यबाट मात्रै नागरिकका मौलिक अधिकार सुनिश्चित गर्न सकिने बताए।
बन्दसत्रले बालकुमार शर्माको संयोजकत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। कार्यसमितिको उपसंयोजकमा कल्पना मल्ल थापा, सचिवमा मुकुन्दप्रसाद शर्मा, सहसचिवमा सारदा पुन मगर, कोषाध्यक्षमा लक्ष्मी खड्का तथा सदस्यहरूमा खम्बजंग शाह, दिवाकर शर्मा, शान्तबहादुर बस्नेत र स्वेच्छा शाह निर्वाचित भएका छन्। विधानअनुसार थप तीन सदस्य पछि मनोनयन गरिने जनाइएको छ।
निर्वाचन अधिकृत कृष्णराज श्रेष्ठले नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए भने निर्वाचन मण्डलका सदस्य ललितराज भण्डारी र लिला पौडेलले प्रमाणपत्र वितरण गरेका थिए।
नवनिर्वाचित संयोजक बालकुमार शर्माले आगामी कार्यकालमा मानव अधिकारको सम्मान, नागरिकको सहभागिता, स्थानीय सरकारसँगको सहकार्य तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।






द मालिका पोष्ट । २०८३ असार २२ गते सोमवार