भेरी नगरपालिका द्वारा जाजरकोटमा पहिलो वास मार्ट स्थापना

जाजरकोट । भेरी नगरपालिका द्वारा जाजरकोट सदरमुकाम खलंगामा पहिलो पटक वास मार्ट स्थापना भएको छ। भेरी नगरपालिकाले खलंगास्थित ज्योती हार्डवयरसँगको साझेदारीमा वास मार्ट सञ्चालनमा ल्याएको हो।

नगरपालिकाको वास इकाईले दीगो खानेपानी, सरसफाई तथा स्वच्छता परियोजना (सुस्वा) को सहयोगमा मार्ट स्थापना गरेको वास संयोजक रविन्द्र विक्रम शाहीले जानकारी दिए। चालु आर्थिक वर्षको नियमित कार्यक्रमअन्तर्गत मार्ट सञ्चालन गरिएको उनले बताए।

वास मार्ट उद्घाटन गर्दै भेरी नगरपालिकाकी उपमेयर सीता जैसीले खानेपानी तथा सरसफाई क्षेत्रको प्रवर्द्धनमा यसको महत्वपूर्ण भूमिका रहने बताइन्। ‘वास मार्ट स्थापना भएपछि खानेपानी र सरसफाई सम्बन्धी सबै सामग्री एकै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्,’ उनले भनिन्, ‘यसले जिल्लाकै खानेपानी तथा सरसफाई प्रवर्द्धनमा सहयोग गर्ने विश्वास लिएको छु।’

उपमेयर जैसीले वास मार्टमा उपलब्ध सामग्रीहरू सुलभ मूल्यमा पाइने र तिनले पानीको अधिकतम बचत गर्न मद्दत गर्ने भएकाले सबैलाई यसको प्रयोग गर्न तथा आवश्यक प्रचार–प्रसार गर्न आग्रह गरिन्। सुस्वा परियोजनाका सल्लाहकार सुर्य बहादुर थापाले वास मार्ट स्थापनाले नागरिकलाई थप सुविधा दिने र सरसफाई तथा खानेपानीको नियमित प्रयोग गर्ने बानीको विकास गर्न मद्दत गर्ने बताए।

नगरपालिकाका अनुसार वास मार्टमा पानीको अधिकतम बचत गरी सरसफाई गर्न सकिने सामग्रीहरू, शौचालयमा पानीको बचत गर्ने प्रविधिहरू, अपांगमैत्री, जेष्ठ नागरिकमैत्री, गर्भवती, सुत्केरी तथा महिनावारी महिलामैत्री सामग्रीहरू उपलब्ध छन्। साथै, उपभोक्ताले आवश्यक सामग्रीहरूको नाम, विशेषता, मूल्य लगायतका जानकारी सहजै प्राप्त गर्न सक्ने गरी व्यवस्थित रूपमा प्रदर्शन गरिनेछ। ज्योती हार्डवयरका प्रोप्राइटर रामचन्द्र ज्योतीले जिल्लामै पहिलो पटक वास मार्ट सञ्चालन गर्न पाउँदा खुशी व्यक्त गर्दै भेरी नगरपालिकालाई धन्यवाद व्यक्त गरे।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया