जाजरकोटका युवाहरूको प्रेरणादायी कदम: चिया बेचेर संकलन गरियो ४ लाख ६६ हजार

भेरी नगरपालिका–४ गैरीखाली निवासी भडेल उच्च रक्तचापका कारण गम्भीर अवस्थामा नेपालगन्जस्थित नर्सिङ होममा उपचाररत छन्।


जाजरकोट । जाजरकोटका युवाहरूले एक प्रेरणादायी सामाजिक अभियानमार्फत प्रशासकीय अधिकृत महेन्द्र कुमार भडेलको उपचारका लागि ४ लाख ६६ हजार ५७० रुपैयाँ संकलन गरेका छन्।

“एक कप चिया अभियान, सानो सहयोग, ठूलो परिवर्तन” भन्ने मूल नारासहित ‘परिवर्तनका लागि युवा अभियानको पहलमा यो अभियान सञ्चालन गरिएको हो। खलङ्गा बजारका पाँच स्थानमा चिया बिक्री गर्दै अभियान सञ्चालन गरिएको थियो।

उक्त विरामीका लागी सहयोग संकलन विभिन्न स्रोतहरूबाट गरिएको थियो। चिया अभियानमार्फत मात्रै रु. १२१०८० संकलन भयो भने, विरेन्द्र शाहीको मोबाइल बैंकिङमार्फत रु. २,२१,०८० संकलन गरिएको थियो। साथै, पूर्वाधार विकास कार्यालय जाजरकोटबाट रु. ५५,०००, राजेन्द्र कुमार शाक्यलगायतको समूहबाट रु. ३६,१४० र सुनिता शाही एसईई ब्याचबाट रु. ३६,३५० गरी कुल रु. ४,६६,५७० संकलन भएको हो।

भेरी नगरपालिका–४ गैरीखाली निवासी भडेल उच्च रक्तचापका कारण गम्भीर अवस्थामा नेपालगन्जस्थित नर्सिङ होममा उपचाररत छन्। संकलित रकम मंगलवार खलङ्गामा आयोजित पत्रकार सम्मेलनमार्फत भडेलका आफन्तलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

परिवर्तनका लागि युवा अभियानका संयोजक प्रनिल चन्दका अनुसार अभियानले विगतदेखि नै सामाजिक उत्तरदायित्व बोकेर यस्ता सहयोगमूलक कार्य गर्दै आएको छ। चिया बेच्ने अभियानसँगै सामाजिक सञ्जाल र व्यक्तिगत सम्पर्कमार्फत पनि रकम संकलन गरिएको हो।

यद्यपि भडेलको स्वास्थ्य अवस्था अझै गम्भीर नै रहेको र उपचार खर्च दिनानुदिन बढ्दै गइरहेकाले परिवारले थप सहयोगको अपेक्षा गरेको छ। उनीहरूको अपिल छ । “जीवन जोगाउन अझै पनि सहयोग आवश्यक छ, सबै मनकारीहरूप्रति हाम्रो हार्दिक आग्रह छ।”

सामाजिक एकता, युवा सक्रियता र मानवीय संवेदनाको उत्कृष्ट उदाहरण बनेको यस अभियानले संकटमा परेका नागरिकहरूलाई राहत दिने मार्ग प्रशस्त गरेको छ।

 




  • फेसबुकबाट तपाईको प्रतिक्रिया